दाङ : कोराेना सङ्क्रमण राेक्न नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

 जेठ २, २०७७ शुक्रबार ९:२०:२८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - भारतमा रेल सेवा सुरु भएर लकडाउन खुकुलो भएपछि सीमावर्ती क्षेत्रबाट मानिसहरु लुकीछिपी नेपाल प्रवेश गर्नेहरुको संख्या बढ्न सक्ने भन्दै नेपाल भारत सीमाको दाङ क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । 

भारतमा काम गर्न गएका नेपाली नागरिक लुकिछिपी आउन सक्ने र कोरोनाको जोखिम बढ्न सक्ने आकलन सहित सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । 

अहिले दाङको सीमावर्ती क्षेत्रमा नेपाल सशस्त्र प्रहरीका दुई सय जना सुरक्षकर्मी खटिएका छन् । थप सुरक्षाकर्मीसहित बाेर्डर आउट पोष्ट थप्ने तयारी गरिएको सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गण हेडक्वार्टर ज्वालामाई दाङका एसपी नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

८३ किलोमिटर लामो दाङको सीमा क्षेत्रमा यस अघी तीन ओटा बाेर्डर आउट पोष्ट थिए । चैत २३ गते ७ ठाउँमा थपेर दश ओटा बाेर्डर आउट पोष्ट पुगेको छ । एउटा पोष्टदेखि अर्काे पोष्टसम्म पुग्न ७–८ किलोमिटर दुरी रहेकाले थप पोष्ट थप्ने तयारी गरिएको हो ।

अहिले सशस्त्र प्रहरीका दश ओटा बाेर्डर आउष्ट पोष्ट छन् । ती पोष्टमा दुई सय सुरक्षाकर्मी छन् । अव फेरी ९ स्थानमा थप्ने योजना रहेको एसपी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले त्यहा स्थापना गरेको बाेर्डर आउट पोष्टले सूचना संकलन गरी सीमा क्षेत्रको जानकारी दिने काम गरिरहेका छन् । 

नाका क्षेत्रका भौरीसाल, खबरी नाका, गुरुङ्ग नाका, पटौली, डगमारा, भैसाही र भौवा नाकामा नयाँ सीमा प्रहरी पोष्ट थपिएको छ । यस अघी सुनपथ्री, खांग्रा र कोइलावासमा स्थापना गरिएको थियो । सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु विद्यालय, सार्वजनिक भवन, व्यक्तिको घरमा आश्रय लिएर वसेका छन् । नाका क्षेत्रमा सञ्चारको सुविधा समेत छैन । 

भारतीय सिमको प्रयोग गरेर नेपालमा सञ्चार गर्नुपर्ने बाध्यता छ । भौगोलीक विकटताका कारण नाका क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन चुनौती थपिएको छ । तर, पनि कोरोना भाइरसको सङ्क्रमण नफैलन दिन नाका क्षेत्रमा असुविधाको विचमा समेत प्रहरी खटाइएको छ ।

‘जहाँ मानिसहरुको अली बढी आवत जावत हुन सक्छ । त्यस्ता ठाउँमा निगरानी बढाउने काम गरिरहेका छौं’सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट कोइलावासका प्रहरी प्रमुख विशाल पाण्डेले भन्नुभयो–‘अफ्ठ्यारो अवस्थामा समेत हामी खटिएका छौं । सीमा क्षेत्रबाट कोही कसैलाई पनि छिर्न दिएका छैनौं ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया