रामेछापमा ढुंगा बालुवाको अवैध उत्खनन्, सीडीअाे भन्छन् ‘स्थानीयवासीले भनेपछि अनुमति दिनुपर्‍याे'

 साउन १५, २०७५ मंगलबार १३:०:१८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – सदरमुकाम मन्थली नजिकैको तामाकोशी किनार र रणजोर खोलाको दोभानमा नदी खोल्ने नाउँमा ढुंगा तथा बालुवाको अवैध उत्खनन् सुरु भएको छ । मन्थली नगरपालिका र स्थानीय प्रशासनले मौखिक सहमति दिएपछि स्थानीय केही अगुवाले नै ढुँगा बालुवाको उत्खनन् सुरु गरेका हुन् ।
 
लामो समयदेखी रणजोर खोलाले गर्ने कटान र तामाकोशी नदीले पुरयाउन सक्ने सम्भावित क्षतिका वारेमा राम्रोसँग बुुझेको भए पनि प्रशासन र नगरपालिकाले कानुनी प्रकियालाई समेत बेवास्ता गर्दै रणजोर खोला क्षेत्रमा उत्खननको मौखिक अनुमति दिएपछि स्थानीयस्तरमा त्यसको व्यापक विरोध भएको छ ।

रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्काले स्थानिय सरकार र प्रशाशनबाटै कानूनको समेत उल्लंघन गर्दै वर्षा याममा बालुवा तथा ढुंगा बालुवा उत्खनन् गर्न दिनु गलत भएकाले तत्काल यसलाई रोकेर हिउँदमा मात्र बाँकी प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो । 
 
तामाकोशी र रणजोर खोलाको बहावबारे राम्रो जानकारी भए पनि मन्थली नगरपालिकाका जिम्मेवार पदाधिकारी र स्थानीय प्रशासनले अवैध अनुमती दिनु चिन्ताको विषय भएको स्थानीयवासी बताउँछन् । 

नगरपालिकाले स्थानीय क्रसर व्यवसायीको मिलोमतोमा आफू निकट र आसेपासेलाई दिनहुँ दुईवटा स्काइभेटर लगाएर बालुवा तथा ढुंगा निकालिरहेको स्थानीयवासिन्दाले बताएका छन् ।

नागरिक अगुवा लेखबहादुर कार्कीले पनि मन्थली नगरपालिकाले गलत समयमा अनुमति दिएर नदीको अनियन्त्रीत दोहन गर्ने काम गरेको बताउनुभयो । यसलाई तत्काल बन्द गरी स्थानीय झोलुंगेपुल हाटेचौर क्षेत्र र ओढारे बस्तीको संरक्षण गर्ने अभियानमा लाग्न नगरपालिकालाई आग्रह गर्नुभयो । 

अहिले खोला नियन्त्रणको नाममा क्रसर व्यवसायीले नदीजन्य पदार्थ बेचिरहेका छन् । नगरपालिकाले वस्ती र झोलुगें पुलको समेत कटान नियन्त्रण गर्ने हो भने नगरपालिका आफैले खोला खोलेर नदीजन्य पदार्थको उचित व्यवस्थापन गर्नुपर्ने कार्कीको भनाई छ ।

नदीजन्य पदार्थ झिक्ने काममा लागेका ओमवावु पुरीले भने आफूहरुले वाध्यात्मक अवस्थामा मात्रै रणजोर खोला खोल्ने काममा लाग्नु परेको दावी गर्नुभयो । पुरीका अनुसार हाटेचौर र ओढारे क्षेत्रका वासिन्दाले मन्थली नगरपालिकालाई रणजोर दोभान र तामाकोशी नदी खोलिदीन आग्रह गरेकाले नगरपालिकाले प्राविधिकद्वारा निर्धारित क्षेत्रमा नदी खोल्न मौखिक अनुमति दिएपछि आफूहरुले ढुंगा र बालुवा झिक्ने काम गरिरहेको दावी गर्नुभयो ।  

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले रणजोर खोला र तामाकोशी दोभानमा स्काभेटर लगाएर बालुवा र ढुंगा निकाल्ने काम कानूनी रुपमा अमिल्दो भएको तर स्थानीय बासिन्दाले तत्काल दोभानको ढुगां र वालुवा नहटाए हाटेचौर, ओढारे क्षेत्र र तामाकोशी घाटको पुललाई रणजोर खोलाले थुनेर क्षति पुर्याउने भन्दै त्यसको उचित व्यवस्थानका लागि माग गरेपछि मौखिक रुपमा अनुमति दिन बाध्य भएको उहाँको भनाई छ ।  
    
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया