२० घण्टापछि पत्ता लागे दाङका कोरोना सङ्क्रमित

 जेठ ३, २०७७ शनिबार १८:२७:२४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङका एक जना सङ्क्रमितको रिपोर्ट सार्वजनिक भएको झण्डै २० घण्टापछि पहिचान भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गलत ठेगाना र सूचना सार्वजनिक गरेपछि दाङमा कोरोना सङ्क्रमित एक जना बिरामी खोज्न सकस भएको छ ।

शुक्रबार बेलुका सार्वजनिक भएको सूचना अनुसार तुलसीपुर उपमहानगरपालिका ७ मा बिरामी नभेटिएपछि विभिन्न अड्कलबाजीसमेत गरिएको थियो । शनिबार दिउँसो दाङ तुलसीपुरका कोरोना सङ्क्रमितको वास्तविक पहिचान भएको हो ।

उनी तुलसीपुर उपमहानगरपालिका ४ रक्षा चौर मजुवाका रहेको पुष्टि भएको छ । ३४ वर्षीय उनी अर्को एक जना आफन्तको उपचारका लागि टिचिङ अस्पताल महाराजगञ्जमा पुगेका थिए । बिरामी कुरूवाको रूपमा रहेको उनलाई पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले टिचिङ अस्पतालकाे आइसोलेशन वार्डमा उपचार भइरहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका एचए दोर्ण वलीले जानकारी दिनुभयो ।

पोजेटिभ नतिजा सार्वजनिक भइसके पनि झण्डै २४ घण्टा दाङका तुलसीपुर क्षेत्र त्रसित बनेको थियो । दाङमा अहिलेसम्म तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गढवा गाउँपालिकाका दुई जना र तुलसीपुरका एक जना सङ्क्रमित भएका हुन् ।  गढवाका दुई जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया