रुकुम पश्चिममा आगलागी : श्रीमतीको ज्यान गयाे, श्रीमान् घाइते

 जेठ ३, २०७७ शनिबार २०:१७:५२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ खदीको  एक घरमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ भने एक पुरुष घाइते भएका छन् । 

शनिबार बिहान पौने ११ बजेतिर भएको आगलागीमा परि ३५ वर्षीया लाली बोहरा देवकोटाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिनुभयो ।

आगो निभाउने क्रममा उहाँका श्रीमान् डम्बर देवकोटा घाइते हुनुभएको छ । खाना पकाउने क्रममा भण्डारण गरिएको पेट्रोल लिक भएपछि आगलागी भएको अनुमान गरिएको छ । 

आगलागीकाे कारण घरभित्रको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । सम्पूर्ण क्षतिको विवरण भने सङ्कलन भइसकेको छैन । आगो नियन्त्रण गरिए पनि महिलालाई भान्साबाट निकाल्न नसक्दा ज्यान गएको प्रहरीको जनाएको छ । 

घरको पहिलो तलामा तेल भण्डारण गरिएको थियो भने दोस्रो तलामा भान्सा रहेको प्रहरीको भनाइ छ । आगलागी भइरहेका बेला चार छोराछोरी भने घरबाहिर रहेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया