सडक गाडी गुडाउन कि मान्छे मार्न ?

 साउन १५, २०७५ मगलवार १५:५:२४ | प्रकाश धौलाकोटी

तेह्रथुम – सडकमा ट्याक्टरले बनाएको खाल्डोमा परि शनिबार म्याङलुङ्ग नगरपालिका–१०, का झाँक्री कान्छा भनिने ६० वर्षे ठगबहादुर पुर्कुटीले ज्यान गुमाउनुभयो

म्याङलुङ नगरपालिका–१, जिविस टोलबाट केउरानी जाने बाटोमा ट्रयाक्टरले सडकमा बनाएको खाल्डोमा लड्दा उहाँको टाउको हिलोमा भासिएको थियो । बजारबाट घर फर्किँदै गरेका पुर्कुटीले हिलाम्मे सडकमा चिप्लिएर लडेपछि उठ्न नसकेर त्यहीँ ज्यान गुमाउनुपर्यो । सर्वसाधारणले त्यही फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।

त्यो तस्बिर राखेर थुप्रै सर्वसाधारणले सडकले सुविधाभन्दा सास्ती दिएको भन्दै दुःख व्यक्त गरे । दुई साताअघि पुर्कुटीको जस्तै सडकमा चिप्लिएर लडेपछि हिलाम्मे भएको म्याङलुङ नगरपालिका–६, का दलप्रसाद लिम्बूको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । लौरो टेकेर जिरिखिम्ती बजार हिँडेका लिम्बू हिलाम्मे सडकमा चिप्लिएर भ्यागुता पछारिएको झैँ पछारिए । 

यी त हिलाम्मे सडकका कारण सर्वसाधारण नागरिकले पाएका सास्तीका प्रतिनिधि घटना मात्रै हुन् । नागरिकको त्यो बेहाल हुने सडकमा ‘गाडीको अवस्था के होला ?’ सहजै अनुमान गर्न सकिन्छ । अहिले जिल्लाका धेरै सडकमा गाडी गुड्दैनन् । गाडी गुडे पनि यात्रुलाई कहाँ के हुने हो भन्ने त्रास र चालकको मुटुले ठाउँ छाडिसकेको हुन्छ । एक ठाउँबाट अर्को ठाउँसम्म गन्तव्य बनाएर छुटेका सवारीले ‘कति बेला पुर्‍याउछन् ?’ भन्ने कुनै टुंगो हुँदैन । खाल्डा–खुल्डी सडकमा चालकलाई पनि गाडी कति बेला उत्तानो पर्ने हो भन्ने मेसो हुँदैन ।

वर्षाका बेला जथाभावी गुड्ने ट्रयाक्टरले सडकमा भैँसी आहाल बस्न बनाएजस्ता खाल्डा–खुल्डी बनाएका छन् । गाडी गुड्न बनाएका सडक बर्खाको बेला ट्याक्टरकै कारण ‘सडक हो’ वा ‘खोल्सा–खोल्सी हो’ भन्ने चिन्न गार्हो हुने गरेको छ । अर्थात जथाभावी ट्याक्टरले सडकमा खाल्डा बनाउँदा सडकले खहरे खोल्साको रुप लिएका छन् ।

प्राविधिक जाँचबिना नै खनिएका सडकका कारण दुर्घटनाको जोखिम उच्च छ । धेरै ग्रामीण सडकमा पहिरोको जोखिम छ । पहिरो नगएका सडकमा पनि खाल्डा खुल्डी र त्यहाँ जमेको हिलोका कारण पैदल हिँड्नसमेत जोखिम छ । अहिले जिल्लाका निर्माणाधीन चार दर्जनभन्दा बढी सडक वर्षाका कारण क्षतिग्रस्त बनेका छन् । वैैशाखदेखि जेसीबी लगाएर पानी पर्दा पर्दै खनिएका सडकमा ट्रयाक्टर गुडेपछि सडकले खोल्सीको रुप लिएको हो । निर्माण र स्तरोन्नतिको काम हुँदै गर्दा पानी परेपछि सडक निर्माणमा गरिएको लगानी वालुवामा पानी हाले सरह बन्ने गरेको छ ।

तेह्रथुमका दुई नगरपालिका र चारवटै गाउँपालिकामा निर्माणाधीनसडकमा क्षति पुगेपछि सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ । निर्माण भइसकेका र बन्दै गरेका सबै सडक वर्षाले बगाएरपछि खेतबारी समेत पुरेको छ । जथाभावी सडक खनेका कारण उर्बर माटो सबै बगेर खोलामा गएको छ भने सानो–सानो खोल्सामा ह्वात्त ह्वात्त आएको बाढीले ठूलो क्षति गरेको छ । खोल्साबाट आएको बाढीले सडक खोलेर ठूल्ठूला खाडल बनाएपछि कतिपय सडकमा ट्याक्टर समेत चल्न सकेका छैनन् ।

जथाभावी रुपमा खनिएका बाटोको असर वडाअध्यक्षदेखि नगरपालिकासम्मका सबै जनप्रतिनिधिलाई थाहा नै हुन्छ । तर विकासका नाममा प्राविधिक अध्ययन बिनै तिनै जनप्रतिनिधि जथाभावी सडक खन्न लगाउँछन् । ‘सुरुमा ट्रयाक्टरले पानी बग्ने बाटो बनाउँछ, पछि पानीले त्यही ट्रयाक्टरले बनाएको डोबबाट बाटोको माटो बगाउँदै खाल्डो बनाउँछ र सडकले खोल्सीको रुप लिन्छ,’ म्याङलुङ्ग नगरपालिका–७ का वडाध्यक्ष नारायण आचार्यले भन्नुभयोे, ‘सडकको भेल घरतिर पसेर मेरै वडामा दुई घरको उठिबासको अवस्था छ ।’

ती परिवारलाई बचाउन सडकको भेल कटाउन मात्रै आफ्नै पहलमा लाखौँ रुपैयाँ खर्चिएको वडाअध्यक्ष बताउनुहुन्छ । बिना प्राविधिक स्टिमेट उपभोक्ता समितिले जथाभावी रुपमा निर्माण गरेका सडकमा गाडी गुड्नेको कुरै छाडौं, मान्छे समेत हिँड्न सक्ने अवस्था छैन । गोरेटो बाटो मासेर बनेका सडकमा पैदल हिँड्ने यात्रुहरुलाई समेत सास्ती छ । हिलोले चिप्लिएर पैदल यात्रुहरुले समेत दुर्गति भोगिरहेका छन् ।

‘गाउँ–गाउँसम्म दक्ष प्राविधिक पुग्दैनन्, पुगे पनि प्राविधिकको सल्लाहबमोजिम उपभोक्ताले काम गर्दैनन्,’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख इञ्जिनियर भरतकुमार यादव भन्नुहुन्छ, ‘बरु डोजर चालकले आफैँ प्राविधिक भएर सडक खनेका छन् ।’ जथाभावी र अनावश्यक रुपमा निर्माण भएका सडकका कारण गाउँमा पहिरोको जोखिम बढेको उहाँले बताउनुभयो ।

‘सडक विकासका लागि हो । सडकले विनाश ल्याउनुहुँन्न, मानव नै नभए सडक कसका लागि सडक ?’ उहाँले थप्नुभयोे । इञ्जिनियर यादवले सडक निर्माणमा दक्ष प्राविधिकहरुको सल्लाह कम मात्रै मान्ने गरिएको दाबी गर्नुभयो ।

तेह्रथुममा ४३ वटा वडाहरु छन् । अहिले सबै वडामा सडक पुगिसकेको छ । धेरै वटा वडाका टोल टोलसम्म पनि सडक पुगेको छ । सडक मात्रै हैन, गाउँ–गाउँसम्म ढुवानीका लागि दैनिक ट्रयाक्टर समेत पुगिरहेका छन् । घरगाउँमै ट्रयाक्टर पुग्दा गाउँमा किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पु¥याउन मौका त छ, तर ट्रयाक्टर कुदेकै कारण गाउँमा एम्बुलेन्स पुग्न सकिरहेको छैन ।

आर्थिक वर्ष २०७४/०७५ मा तेह्रथुमका स्थानीय तहहरुले कुल पूँजीगत बजेटको ८० प्रतिशत बजेट सडकमै लगानी गरे । तर अहिले तेह्रथुमका कुनै पनि सडक बाह्रै महिना सञ्चालनयोग्य छैनन् । पानी पर्ना साथ सवारी अवरुद्ध हुने गरेको छ । जिल्ला भित्रिने मुख्य बसन्तपुर–म्याङलुङ सडक (२६ किमि) खण्डमा पनि अहिले दैनिक गाडी फसेर घण्टौँसम्म जाम हुने गरेको छ । कमजोर प्राविधिक स्टिमेटका कारण साँघुरा सडकमा हिलाम्मे भएपछि १२ घण्टासम्म पनि सवारी जाम भइरहेको सवारी व्यवसायी डिल्ली रेग्मीले बताउनुभयो ।

यो सडक जिल्लाको मेरुदण्डको रुपमा रहेको छ । तर सडक निर्माणको जिम्मा लिएका सम्बन्धित सरकारी निकाय भने मौन छन् । सडकको दिगोपनाका लागि तेह्रथेमका राजनीतिक नेतृत्व र जनप्रतिनिधिले समेत दबाब दिन नसकेको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेका छन् । गएको वर्ष पनि वर्षाले सडकलाई खोल्सीमा परिणत गरेको थियो । ती सडकमा स्थानीय तहहरुले करोडौँ खर्च गरेर मर्मत गरेका थिए । तर ती सडकमा पुनः मर्मत गरेको दुई महिना नबित्दै अवस्था उस्तै बनेको छ । सुरुमा सडक खन्ने र त्यसलाई समयमै पूरा नगर्ने परम्पराले पनि वर्षौ लगाएर करोडौं खर्चमा खनेका सडक बर्खामा खोल्सी बन्ने गरेको छ । 

अहिले जिल्लाका ६० भन्दा बढी सडकमा एकैपटक यातायात ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बसन्तपुरले जनाएको छ । सदरमुकाम म्याङलुङ्गदेखि ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु, सक्रान्तिबजारका लागि छुट्ने साना सवारी नकुदेको दुई महिना बितेको छ । रिजर्भमा केही लेन्डरोभरहरु आवत् जावत् गरिरहेका भए पनि बढी भाडा तिर्नुपर्दा यात्रुहरुलाई मार परेको छ । 

वर्षाका कारण यात्रुहरुलाई सदरमुकाम आउन जान कठिन भएको छ ।  जिरिखिम्तीदेखि मोराहाङ–श्रीजुङ जोडिने सडक पनि क्षतिग्रस्त छ । वर्षाले सडक हिलाम्मे भएर हिलोमा फसेका सवारी निकाल्न चालक र यात्रु घण्टौंसम्म ठेलिरहेका भेटिन्छन् । सिधुवा–शुक्रबारे सडक पनि महिनाँैदेखि अवरुद्ध छ । दैनिक तीन वटासम्म बस चल्दै आएकामा अहिले आधा बाटोसम्म पुगेर फर्किँने गरेका स्थानीय उदयदीप सुब्बाले बताउनुभयो । सडक हिलाम्मे भएपछि ढुवानी गर्न नपाउँदा किसानहरुले दैनिक लाखौँ मूल्यको क्षति बेहोर्नुपरिरहेको छ ।

 

वर्षाका कारण सडकमा ट्याक्टर समेत गुड्न छाडेपछि किसानले उत्पादन गरेको दूध, तरकारी, फलफूललगायत खाधन्न बस्तुहरु घरमै कुहिएर खेर गएका छन् । ‘वर्षाको समयमा सडकले किसानलाई बढी घाटा पुर्‍याएको छ,’ आङिदमका किसान राजकुमार पन्तले भन्नुयभो । उहाँका अनुसार गाउँका सडक हिलाम्मे भएकाले दूध बोक्ने ट्याक्टरसमेत चल्न सकेका छैनन् । कृषिजन्य सामाग्रीहरु ढुवानी हुन नपाउँदा दैनिक किसानहरुले लाखौँ रुपैयाँको नोक्सान बेहोरिरहेको अगुवा कृषक पन्तले बताउनुभयो ।

ढुवानी नहुँदा छथर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पन्चकन्या गाउँका किसानले उत्पादन गरेको तरकारी र फलफूल पनि कुहिएर नष्ट भएको छ । पाँच वर्षअघि खनिएका सडकमा समेत वर्षैपिच्छे मर्मत सम्भारको नाममा करोडौं रुपैयाँ खर्च भइरहेकोे छ ।

मोटो रकम खर्च गरेर मर्मत गरिएका सडक बाढीले बगाएकाले मर्मतको नाममा राज्यकोषको करोडौं सकिने गरेको गुनासो स्थानीय गर्छन् । गाउँगाउँमा खनिएका यस्ता सडकमा हिलो उठेकाले गाउँलेलाई पैदल हिँड्नसमेत अप्ठ्यारो भएको स्थानीयको भनाई छ ।

सडकलाई दिगो बनाउन आफूहरुको निरन्तर पहल रहेको प्रतिनिधिसभाका सदस्य भवानीप्रसाद खापुङले बताउनुभयो । ‘तेह्रथुमको मुख्य सडक नै हिलाम्मे छ, यसले पु¥याएको सास्ती पनि थाहा छ, तर सोचिसक्दा बाटो नबन्नेरहेछ, यसको पनि प्रक्रिया पुर्‍याउनुपर्‍यो,’ उहाँ भन्नुहुन्छ ।

तेह्रथुमका सडकलाई व्यवस्थित गर्न नयाँ ट्रयाक खोल्ने प्रक्रिया रोकेर निर्माण थालिएका सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । तेह्रथुमका धेरै वटा स्थानीय तहले चालू आर्थिक वर्षबाट नयाँ ट्रयाक खोल्ने खर्च ट्रयाक खोलिसकेका सडकलाई स्तरोन्नति गर्न खर्च गर्ने नीतिगत निर्णय समेत गरेका छन् । 
 

भिडियाेमा पनि हेर्नुहाेस् 

अन्तिम अपडेट: भदौ १६, २०७५

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । उहाँलाई फेसबुकमा पनि भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया