लमजुङको सुन्दरबजारमा रहेको जिल्लास्तरको क्वरेण्टीनमा १४ जना

 जेठ ४, २०७७ आइतबार २१:२:१४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ७ काे कृषि क्याम्पस हाताभित्र बनाइएको जिल्लास्तरको क्वरेण्टीनमा आइतबारसम्म १४ जना रहेका छन् । 

पछिल्लो समय विभिन्न ठाउँबाट आएका आठ जना पुरुष र ६ जना महिला गरी १४ जना जिल्लास्तरको क्वरेण्टीनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्वरेण्टीनकाे रेखदेख लमजुङकाे नेपाली सेनाको श्रीजंग गणले गरेको छ । 

लमजुङमा अहिलेसम्म क्वरेण्टीनमा बस्नेको सङ्ख्या चार सय ४२ रहेकोमा तीन सय ४५ घर फिर्ता भइसकेको र आइतबारसम्म ३४ महिला र ६३ पुरुष गरी ९७ जना विभिन्न क्वरेण्टीनमा रहेको पनि उहाँले बताउनुभयो ।

लमजुङमा एक हजार १४ क्षमताका ७६ क्वरेण्टीन रहेका छन् । अहिलेसम्म तीन सय २९ जनाको आरडीटी र ५३ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको शाहीले बताउनुभयो ।  कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि लमजुङलाई शुक्रबार राति १२ बजेदेखि जेठ ५ गतेसम्मका लागि सिल गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी एवं क्राइसिस म्यानेजमेन्ट सेन्टर (सङ्कट व्यवस्थापन केन्द्र) का संयोजक लक्ष्मणबहादुर खड्काको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रको बैठकको निर्णयअनुसार जेठ २ गते राति १२ बजेदेखि ५ गते राति १२ बजेसम्म लागू हुने गरी जिल्ला सिल गरिएको हाे ।

अहिले लमजुङमा एम्बुलेन्स, शव वाहन, दमकल, अत्यावश्यक कामका लागि अनुमति प्राप्त सवारी साधनहरुबाहेक अन्य सवारी साधन तथा मानिसहरुको आवागमन पूर्णरुपमा बन्द गरिएको छ । षधि पसल र अत्यावश्यक खाद्य सामाग्री बिक्री गर्ने पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ला गरिएका छन् । बैंक, वित्तिय संस्था, विमा, सहकारीलगायतका सबै सेवाहरु अहिले बन्द छन् ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया