अतिक्रमित ४ हेक्टर वन क्षेत्र खाली गराइ तारबार गरियो

 जेठ ५, २०७७ सोमबार १७:३९:४९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा अतिक्रमण गरिएको झण्डै चार हेक्टर वन क्षेत्र डिभिजन वन कार्यालय दाङले अतिक्रमण हटाइ तारबार गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका १ मा रहेको जनता सामुदायिक वनमा झण्डै तीन/चार वर्षदेखि अतिक्रमण भइरहेकाे झण्डै चार हेक्टर वन क्षेत्र हटाइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खीमबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिभिजन वन कार्यालय दाङ र सबडिभिजन वन कार्यालय तुलसीपुरबाट गएको टाेलीले झण्डै चार हेक्टर जग्गामा भएको अतिक्रमण हटाइ ती जग्गामा एक हजार रनिङ्ग मिटर काँडेतारले तारबार गरेको छ ।

जनता सामुदायिक वनका तीन/चार जना उपभोक्ताहरुले खेतीपाती गर्ने उद्देश्यले वन क्षेत्र अतिक्रमण गरेको भन्ने सूचनाका आधारमा टोलीले अतिक्रमित वन क्षेत्र खाली गराएको हाे । यस क्षेत्रमा खेतीपाती गर्न सुरु गरिएको थियो ।

वन क्षेत्र कसले अतिक्रमण गरेको भन्ने किटानी नभएको तर तीन/चार घरधुरी उपभोक्ताहरूको मिलेमतोमा अतिक्रमण भएको भन्ने कुरा परारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

यथाशीघ्र उनीहरुकाे पहिचान गरी सामूहिक वनको स्वीकृत कार्य योजना र विधान बमोजिम संलग्नहरूलाई कारबाही गरी डिभिजन वन कार्यालयलाई जानकारी गराउन समूहका पदाधिकारीहरूलाई निर्देशन दिइएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया