बैतडीमा अवैध रुपमा भारतबाट आउने क्रम रोकिएन, कोरोनाको जोखिम बढ्ने चिन्ता

 जेठ ५, २०७७ सोमबार २०:३४:३९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – लकडाउनका कारण सीमा नाका सिल रहेका बेला बैतडीमा महाकाली नदीमा ट्युबको माध्यमबाट अवैधानिक रुपमा भारतबाट नेपाल आउने क्रम रोकिएको छैन । 

पछिल्लो समय भारतबाट आएका अधिकांश नागरिकमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भइरहेका बेला बैतडीमा भने भारतबाट अवैधानिक रुपमा नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । 

यसरी अवैधानिक रुपमा प्रवेश गर्नेहरुलाई सीमामै रोक्नको लागि सुरक्षाकर्मी परिचालन गरेको भए पनि सुरक्षाकर्मीको आँखा छलेर नेपाल प्रवेश हुने क्रम उस्तै नै रहेको छ ।

आइतबार मात्रै बैतडीका १२ जना महाकाली नदी तरेर आएकाे प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक (इन्सपेक्टर) किसन चन्दले जानकारी दिनुभयो । उनीहरु बैतडीको धर्मघाट र दार्चुलाको लाली नाका भएर स्वदेश फिर्ता भएकाे बुझिएको छ । 

स्वदेश भित्रिनेमा जिल्लाको पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ४/४, शिवनाथ गाउँपालिकाका ३ र पञ्चेश्वरका १ जना रहेका रहेका छन् । अवैधानिक रुपमा नेपाल प्रवेश गर्नेहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाएर क्वरेण्टीनमा राख्ने गरेको प्रहरीले जानकारी दिएकाे छ । 

बैतडीको भारतसँग सीमा जोडिएकोे झण्डै ६१ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीकाे ६ वटा पाेस्ट खडा गरिएकाे छ । यसका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि सीमा क्षेत्रमा गस्ती जारी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । यसरी अवैधानिक रुपमा नेपाल नआउन् भनेर सुरक्षाकर्मीहरुले सीमामा चौबिसैँ घण्टा पहरा दिइरहेकाे बताइएकाे छ । 

यसरी पहरा दिँदा पनि महाकाली नदीबाट अवैधानिक रुपमा नागरिकहरु आइरहेका छन् । यसले कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयहरु चिन्तित छन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया