रसुवामा अघिल्लो वर्ष उत्पादन भएको चीज अझै बिक्री भएन

 जेठ ६, २०७७ मंगलबार १०:१७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको लाङटाङ चीज उत्पादन केन्द्रले अघिल्लो वर्ष उत्पादन गरेकोमध्ये ५४ प्रतिशत चीज अझै बिक्री भएको छैन । 

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण पर्यटन व्यवसाय बन्द भएपछि उत्पादन भएको चीज बिक्री हुन नसकेको हो । केन्द्रका अनुसार अघिल्लो वष्र्ष ५ हजार केजी चीज उत्पादन भएकोमा २ हजार ७ केजी चीज बिक्री भएको छैन । 

जिल्लामा सञ्चालनमा रहेका अन्य केन्द्रमा उत्पादन भएको चीज दुग्ध विकास संस्थानमा लैजाने गरिएको भएपनि यो केन्द्रमा उत्पादन भएको चीज स्थानीय स्तरमा नै खपत हुन्थ्यो । पर्यटन व्यवसाय बन्द नभएको भए चैत अगाडि नै चीज बिक्री भइसक्ने केन्द्र प्रमुख ग्याल्बो तामाङले बताउनुभयो । 

केन्द्रले यसअघि वैशाख १ गतेबाट दूध संकलन गर्दै आएकोमा यो वर्ष लकडाउनका कारण अझै सुरु गर्न सकेको छैन । उहाँका अनुसार जेठ १५ गतेबाट उत्पादन केन्द्रले दूध संकलन तथा चीज उत्पादनको काम सुरु गर्ने छ । केन्द्र सञ्चालनमा नआउँदा कृषकले दुध बिक्री गर्न पाएका छैनन् ।

जिल्लामा अहिले दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा केन्द्र सञ्चालन भइरहेका छन्  २०७५ सालदेखि थुमन र तातोपानी थप भएका हुन् । २०७५ साल अघि सञ्चालनमा रहेका चारवटा केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चीज र १२ हजार ४ सय किलो मखन उत्पादन गरेका थिए ।   

दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चीज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ । जिल्लाको चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता रहेको छ । 

गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र  लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ । 

जिल्लामा सञ्चालनमा रहेका चीज उत्पादन केन्द्रहरूले जेठ १५ गतेदेखि केन्द्र सञ्चालन गर्ने तयारी गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया