कोरोना महामारीले देशलाई महँगोमा मूल्यवान शिक्षा दियो : प्रधानमन्त्री ओली

 जेठ ६, २०७७ मंगलबार १३:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले महँगोमा नेपाललाई मूल्यवान शिक्षा दिएको बताउनुभएको छ । कोरोना तितो यथार्थ भएको र यसले आफू र आफ्नो सरकारलाई गम्भीर बनाएको उहाँको भनाइ छ ।

केही सांसदहरुले कोरोनामहामारी नै नभएजस्तो गरी नीति तथा कार्यक्रम आयो भनेको तर सरकारले कोरोनासँग लड्ने र यसको क्षति कम गर्न उत्तिकै ध्यान दिएको बताउनुभयो । 

संसद्मा सम्बोधन गर्नुहुँदै उहाँले कोरोनाले अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पारेको तर यसो भन्दै गर्दा पुरै लम्पसार परेर मात्रै समस्या समाधान नहुने र अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणलाई पनि जोड दिइएको बताउनुभयो । 

बाँच्नको लागि र सामाजिक जीवन चलाउनकै लागि भएपनि आर्थिक चहलपहल बढाउनुपर्ने भन्दै प्रधानमन्त्रीले कोरोना कालमा अरु गतिविधिलाई पनि ध्यान दिइएको बताउनुभयो । 

केही सांसद र नीजि क्षेत्रले राहतको प्याकेज नआएको बताएका बेला प्रधानमन्त्रीले भन्नुभयो, ‘प्याकेज देखाउने कुरा होइन । जता जाँदैछौं त्यसअनुसार आर्थिक हिसाबले काम गर्नुपर्ने हुन्छ । जसलाई प्याकेज जरुरी छ, सरकारले महसुस गरेर ल्याउँछ । रोजगारी सृजना गर्न र सबैको दैनिकी सहज बनाउने बाटोमा सरकार जान्छ ।’

गरिब, सहाराविहीन, अपाङ्गता भएकाहरु र श्रम गर्न नसक्नेहरुको सरकारले बिना सर्त जिम्मा लिने उहाँले बताउनुभयो । आउँदा दिनमा यस्ता प्रबन्ध गर्न सरकार थप सक्रिय भएर अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया