कोरोना सङ्क्रमित भेटिएका गुल्मीको मदानेमा ३० जनाको स्वाब सङ्कलन

 जेठ ६, २०७७ मंगलबार २१:१६:१२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मदाने गाउँपालिकामा अन्य ३० जनाकाे पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

स्वास्थ्य कार्यालय गुल्मीमा प्रमुख डाक्टर भवानीप्रसाद शर्माको नेतृत्वमा गुल्मी अस्पतालका डाक्टर उत्तम पाच्यसहितकोे टोली मङ्गलबार मदाने गाउँपालिका ६ अन्तर्गत सङ्क्रमित क्षेत्र पुर्कोट दहमा पुगेर स्वाब सङ्कलन गरेको हो । 

स्वास्थ्यकर्मीहरुको टोलीले पहिलो चरणमा सङ्क्रमित व्यक्तिको परिवार र उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलन गरेकाे हाे । स्वाब परीक्षणका लागि मङ्गलबार नै भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइने तयारी गरेको डाक्टर शर्माले बताउनुभएको छ । 

सङ्क्रमणबाट उत्पन्न हुन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले अर्को सूचना नगर्दासम्मका लागि सङ्क्रमित व्यक्तिको घर, उनले उपचार गराएको स्वास्थ्य क्लिनिक र मदाने गाउँपालिकालाई पूर्णरुपमा सिल गरिसकिएको छ ।

गाउँपालिकाले विज्ञप्ति जारी गरी पालिकावासीलाई धैर्य रहन र कोरोना भाइरसका विरुद्धका सुरक्षा उपाय तथा सतर्कता अपनाउनसमेत आग्रह गरेको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनुभएको छ । 

मदाने गाउँपालिका ६ अन्तर्गत पुर्कोट दहमा अध्यापन गराउँदै आउनुभएका एक शिक्षकमा सोमबार कोरोना पुष्टि भएकाे थियाे । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले सङ्क्रमित व्यक्तिको तत्कालै केस हिस्ट्री, ट्राभल हिस्ट्री र कन्ट्याक ट्रेसिङ गर्न गाउँपालिकालाई आग्रह गरेको छ ।

जिल्लाको मदाने गाउँपालिकामा एक व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि अहिले गुल्मीवासीहरु त्रसित बनेका छन् । घटनाको जानकारी पाएपछि मदाने गाउँपालिका मङ्गलबार दिनभर सुनसान बनेको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया