दाङ : राहत बाँडन लगेको चामल सडेकाे भेटिएपछि गोदाम सिल

 जेठ ७, २०७७ बुधबार ६:५९:३८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - सामुदायिक वनले दाङको लमहीबाट राहत बाँडन लगेको चामल कुहिएको खान नमिल्ने परेपछि चामल गोदाममा सिल गरिएको छ ।

गाउँमा बाँडिएको चामल खान नमिल्ने भएपछि राहत लिएकाहरुले पनि फिर्ता गरेका छन् । दाङको राजपुर गाउँपालिकामा वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई राहत वितरण गर्नको लागि लगिएको चामल गुणस्तरहीन भएको पाइएपछि फिर्ता गरिएको हो ।

लमहीको आर.के. सप्लायर्सले बिक्री गरेको पहेँलो बोरामा चन्दन लेखिएको चामल गुणस्तरहीन भेटिएको हो । उक्त सप्लायर्सबाट राजपुर ७ को भयरथान सामुदायिक वनले आफ्ना उपभोत्तालाई राहत वितरण गर्नको लागि १ सय ६४ बोरा चामल लगेकोमा १ सय ३२ बोरा चामल कुहिएको फेला पारेपछि फिर्ता गर्न  लमही ल्याइएको सामुदायिक वनका अध्यक्ष चेतबहादुर ओलीले जानकारी दिनुभयो । 

बिक्रेताले सेतो बोराकाे नमुना देखाएर बिक्री गर्दा सेतोसँगै पहेँलो बोराको चामल पनि  मिसाएर दिएको उहाँले बताउनुभयो । १ हजार १ सय २५ रुपैयाँ प्रतिबोरा मूल्य परेको कालो सडेको र धुलैधुलो देखिन्छ ।

अहिले त्यस सप्लायर्सको चन्दन जातको चामल राखिएको गोदाम सिल गरिएको र थप अनुसन्धानपछि सम्बन्धित निकायले कारबाही गर्ने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  

चामल फिर्ता गराउन आउने जाने दुवानी खर्च पनि क्षतिपूर्तिस्वरुप उपलब्ध गराउन सप्लायर्सको प्रोपाइटर सहमत भएका छन् ।

प्रोपाइटर आनन्द गुप्ता र इन्द्रमणि खनालले चामल आफूहरुले नहेरेका कारण समस्या भएको बताएका छन् । 

अहिले त्यस सप्लायर्समा रहेको ४२ बोरा चामल र फिर्ता आएको १ सय ४२ बोरा गरी एक सय ८४ बोरा चामल सहितको गोदामलाई सिल गरिएको छ ।

वडा प्रहरी कार्यालय,उद्योग वाणिज्य संघ तथा पत्रकारको रोहबरमा मुचुल्का उठाएर गोदाम सिल गरी अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो । ‘अहिले बन्द गरेर अनुसन्धान थालिको छ, दोषी भेटिए कारबाही हुन्छ’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: चैत १०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया