कानुनमा कडा सजाय छ भनेर ती राक्षसहरूलाई कसले पढाउने ?

 साउन १५, २०७५ मगलवार १८:३:१६ | अनुषा न्याैपाने
unn.prixa.net

बिहान उठ्नेबित्तिकै मोबाइलले नोटिफिकेसन देखाउँछ । समाचार हुन्छ –बालिकाको बलात्कारपछि हत्या । दिउँसो फेरि अर्को समाचार आउँछ–बलात्कारपछि हत्या । सुत्ने बेलामा फेरि अर्को खबर आउँछ आफन्तद्वारा  बलात्कार... 

दिमाग रन्थनिन्छ, भक्कानो छुटेर आउँछ । दिमागमा आगो दन्किए झैँ हुन्छ । अनि आगोमा घ्यू थपिन्छ, जब बलात्कारी नाताभित्रको वा चिनेजानेको पर्छ अथवा राष्ट्रसेवक र प्रहरी पर्छ । 

मानवीय संवेदना बोकेका सबै हृदयलाई पनि यस्तै भएको हुनुपर्छ । एक त यस्तो घटनाले मन दुखेको हुन्छ । त्यसमाथि जब पीडितका तस्बिरसहितका खबर जताजतै भाइरल बनाइन्छ । अनलाइनले हिट र शेयर अनि व्यक्तिले लाइक, र रिट्वीट बढाउन गर्ने यस्तो प्रचारबाजीले आक्रोशको पारो झनै बढाउँछ । 

जबजब यस्ता घटना सार्वजनिक हुन्छन् तबतब सामाजिक सञ्जालमा आक्रोशहरू पोखिन्छन् । कतिपयले त महिला अधिकारकर्मीलाई दोष दिन्छन् । कतिपयले सबै पुरुषलाई एकै ठाउँमा राखेर तौलिन्छन् । कस्तो सम्मको सजाय दिन सकिन्छ भनेर लेखिन्छ । मृत्युदण्डसम्मका माग सुनिन्छन्, लेखिन्छन् । अनि त्यसैमा कसैले भद्दा मजाक जोडिदिन्छ – बलात्कार गर्ने केटाको त लिङ्ग काट्ने, केटीले बलात्कार गरे के काट्ने ? यस्तो भद्दा मजाक देखेपछि भन्न मन लाग्छ थुइक्क ! 

एक्लै विद्यालय जान सक्ने वातावरण त छैन, कसरी हाम्रा साना नानीहरूले निस्फिक्री भएर पढ्नु ? कसरी अगाडि बढ्नु ? आखिर किन यस्तो भइरहेछ ? दोष कसको ? मनमा अनेक कुरा खेल्छन् । पितृसत्तात्मक समाजलाई दोष दिनु ? अहँ नारीलाई देवी मानेर पुज्ने समाजलाई त्यस्तो दोष दिन पक्कै पनि सुहाउँदैन । कि भड्किलो पहिरनलाई दोष दिनु ? अहँ मिल्दैन, पहिरन आफैमा भड्किलो हुँदैन, त्यो त हेर्ने नजरमा भर पर्छ ।

एक मनले सोच्छु, मानवीय संवेदना आखिर किन यस्तो भइरहेको छ । दिनदिनै हामी किन संवेदनहीन भइरहेका छौँ । एउटा सुन्दर दिनको आशामा निद्राबाट ब्युँझिएको मेरो शरीर किन असुरक्षित महसुस गर्दैछ । यस्तै, मानसिक तनावमा बस्नु थियो भने किन प्रकृतिमा अस्तित्व रहिरहेको ? 

एकातर्फ ‘यस, आई ब्लीड, प्राउड टु बि अ वुमेन ।’ भन्ने खालका नारा गुन्जिरहेका हुन्छन् । अर्को तर्फ यी यस्ता घटनाले ‘नो, आई एम नट प्राउड, आई एम अफ्रेड’ भन्नुपर्ने अवस्था छ । गर्व गर्न त खुसी हुनुपर्छ, मनमा कुनै किसिमको बोझ हुनु हुँदैन, तब न आफूले आफैलाई आफैमाथि गर्व गर्न सकिन्छ । तर दिनदिनै देखिने यस्ता घटनाले बोझ दिन्छ, भित्र–भित्र डर पैदा गर्छ, र डरले थिचिएको मानिसले कदापि गर्व गर्न सक्दैन, खुसी हुन सक्दैन ।

आखिर किन यस्तो भइरहेछ, यो अदृश्य डर र बोझ बोकेर कहिले सम्म हिँड्ने ? इतिहासमा हरेक युद्धको अन्त्य भएको मिति छ, तर यो डर र बोझसँगको युद्धको अन्त्यको घोषणा कहिले गर्न पाउने एक नारीले ? मानव विकासक्रम देखि नै सुरु भएको यो डरसँगको युद्ध २१औं शताब्दीसम्म आइपुग्दा पनि सकिएको छैन । 

मलाई एक्लै हिँड्न मन लाग्छ । कहिलेकाहीँ एक्लै हिँड्छु पनि तर घाम लागेको समयमा, मान्छेहरूको घुइँचो हुने स्थानमा । त्यतिबेला मेरो एक्लै हिँड्दाका सहयात्रीहरू अपरिचित व्यक्तिहरू हुन्छन् । 

निर्जन स्थानमा रातको समयमा एक्लै हिँड्ने एउटा अनौठो रहर छ मलाई । सायद म केटा भएको भए त्यो रहर पूरा गर्न मलाई खासै गाह्रो हुने थिएन होला, तर यो रहरलाई रहरमै लुकाएर बस्नु परेको छ । कारण त्यही हो, डर । बरु म भन्दा १०–१२ वर्ष सानो भाइलाई साथी लिएर हिँड्न सक्छु, तर म एक्लै हिँड्न सक्दिन । दिउँसो घाममा, घुइँचो हुने स्थानमा हिँड्दा त ‘तिमीलाई एक्लै डर हिँड्न डर लाग्दैन’, भन्ने  प्रश्न सुनिराखिन्छ । सुनसान ठाउँमा हिँड्ने एक्लै  सोच्नु नै एककिसिमको जोखिम मोल्नु हो । 

यही डरमा थिचिएका हामी नारीहरूलाई पुरुष आवाजहरूले भन्छन्, ‘तिमीहरूलाई सबै कुरा दिएकै छ,  आऊ प्रतिस्पर्धा गर अब्बल बन अनि हामी कुर्सी खाली गर्दिन्छौ ।’ कुर्सी ठूलो कुरा हैन । त्यसप्रतिको मोह अनि लगाव अहँ पटक्कै छैन । अरू केही चाहिँदैन, स्वतन्त्र पन्छी झैँ उड्नु पनि छैन, कमसेकम यो डरको बोझ बोकेर हिँड्नु नपरोस् । त्यति मात्रै भएमा पाइला अलि छिटो चल्ने थियो । 

एक्लै विद्यालय जान सक्ने वातावरण त छैन, कसरी हाम्रा साना नानीहरूले निस्फिक्री भएर पढ्नु ? कसरी अगाडि बढ्नु ? आखिर किन यस्तो भइरहेछ ? दोष कसको ? मनमा अनेक कुरा खेल्छन् । पितृसत्तात्मक समाजलाई दोष दिनु ? अहँ नारीलाई देवी मानेर पुज्ने समाजलाई त्यस्तो दोष दिन पक्कै पनि सुहाउँदैन । कि भड्किलो पहिरनलाई दोष दिनु ? अहँ मिल्दैन, पहिरन आफैमा भड्किलो हुँदैन, त्यो त हेर्ने नजरमा भर पर्छ । त्यसो भए यस्ता घटना बढिरहनुमा दोषी को ? किन कोही मानिस त्यस्तो अपराध गर्छन् । उनीहरूको दिमागमा के चलिरहेको हुन्छ ।

हाम्रो समाजले यौनलाई निकृष्ट बनाएर राखेको छ । यहाँ खुल्ला रूपमा यसको बारेमा कुरा गर्न पनि हुँदैन । विद्यालयको पाठमा आए पनि त्यसलाई छोडेर अन्य पाठ पढाउने परम्परा छ । अझ घर परिवारमा त कुरा नै निस्किँदैन । अनि उत्सुकता र जिज्ञासा जाग्नु । अनि त्यही कौतुहलताको उपाय खोज्दै जान्छ । अचेल प्रविधि छ, इन्टरनेट छ कौतुहलता मेटाउन सजिलो छ । अनि त्यही कौतुहलताको बाटो हुँदै व्यावसायिक रूपमा सञ्चालित पोर्नसाइटहरुले कौतुहलता झनै बढाउन मद्दत गर्दछन् । अनि दिमागमा नराम्रो सँग छाप छोडेर बस्छन् । ती कलाकारहरूको एक्टिंगमा आफूलाई देख्दादेख्दै कति नमज्जासँग त्यसको भूमरीमा पर्छन् अनि जन्मिन्छन् यस्ता घटना । 

केही समय अगाडि एकजना मित्रले भन्दै थिए, ‘गाउँ त साह्रै असभ्य हुन थालेछ ।  स्कुल पढाउने शिक्षकले नै विद्यार्थीलाई ताकेर बस्ने रहेछन् । मैले त भाइलाई आफैसँग राखेर पढाउने निर्णय गरेँ । कस्तो सभ्यता आयो ।’  इन्टरनेटमा भएको कुरा सबै राम्रो र ठिक हो भनेर बुझ्ने परिपाटीले निम्त्याएको डरलाग्दो परिणाम हो यो । पछिल्लो समयमा किशोर किशोरीको आत्महत्याको संख्या बढ्दै जानु कतै यसैको परिणाम त हैन ? जस्तो लाग्ने । 

आखिर कहिलेसम्म यी र यस्तै घटनाको साक्षी बनेर मौन बस्ने ? कसरी बालिका बचाउने ? कसरी महिलाले आत्मसम्मानपूर्वक बाँच्न पाउने कुराको ग्यारेन्टी गर्ने ? कसरी निस्फिक्री भयरहित वातावरणमा हुर्कन पाउने ? कसले जवाफ दिने ? कडा भन्दा कडा कानुन त्यति बेला कडा हुन्छ जति बेला लागू हुन्छ । कानुनमा कडा सजाय छ भनेर ती राक्षसहरूलाई कसले पढाउने ?  कसले सिकाउने ? सबैलाई सम्मान गर्नुपर्छ भन्ने कुरो कानुनमा लेखिराख्नु पर्ने कुरा हो र ?

सामान्य पत्रकारिताको ज्ञान समेत नभएका त पत्रकार हुन्नन् क्यारे, पीडितको अगाडि क्यामेरा तेर्साउँदा पत्रकारिताको ज्ञान हैन मानवीय संवेदनाले पनि हात काँप्नु पर्ने । ल ठिकै छ एउटा पत्रकारले त खिच्यो रे, उ त सिकारु भयो, तर वर्षौँ पत्रकारिता गर्दै आएका, आफूलाई निक्कै ज्ञानी, ठूलो नामी पत्रकार भन्नेहरू नै सम्पादनमा बस्छन् । सम्पादकको जिम्मेवारी हैन र के राख्ने के नराख्ने भनेर छिनोफानो गर्ने ?  

अर्को पक्ष पनि छ, सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने । यिनीहरू त देखिँदैनन् र अदृश्य बनेर निकृष्ट व्यहवहार गर्दछन् । सामाजिक सञ्जाल चलाउन प्राविधिक ज्ञान भएर मात्र हुँदैन यस्ता ज्ञान पनि चाहिन्छ । तर कसले नियमन गर्ने, कसले सिकाउने, को होला र सिक्न तयार ? सबैलाई परिवर्तन चाहिएको छ, सुखी र समृद्ध समाज चाहिएको छ, तर आफ्नो सोच र कर्ममा परिवर्तन गर्न किन कसैले चाहँदैन ? 


   

अन्तिम अपडेट: भदौ १४, २०७५

अनुषा न्याैपाने

1 Comments

तपाईको प्रतिक्रिया