ठाकुरबाबा नगरपालिका : सामाजिक दुरी कायम राख्दै, काम गर्दै

 जेठ ७, २०७७ बुधबार २०:४५:२४ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । 

ठाकुरबाबा नगरपालिक २ मा बुधबारदेखि एक सय २१ जनालाई रोजगार प्रदान गरिएको हो । कार्यक्रम अन्तर्गत अति विपन्न परिवारलाई विकास निर्माणका काममा  लगाइने नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो । 

नौ वटै वडाबाट रोजगार प्रदान गरिएको र सबै वडामा काम सुरु भइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिका २ सतघरुवा गाउँबाट नयाँ बाटो निर्माणको ट्र्याक खोल्ने र कुलो निकाल्ने कार्य शुभारम्भ भएको वडाध्यक्ष हरिराम थारुले बताउनुभयो । 

लकडाउन भएका बेला काममा आएका सबैलाई मास्क, ग्लोभ्स, स्यानिटाइजर प्रयोग गर्दै पाँच मिटरको सामाजिक दुरी कायम राखेर काममा लगाइएको छ ।कार्यक्रम अन्तर्गत सात सय ५० जनालाई रोजगारी दिने योजना रहेको नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो । रोजगारीकाे लागि छनाेट भएकाहरुलाई सडक, विद्यालय, कुलो, वडा कार्यालयको भवन निर्माणलगायतका काममा खटाइने छ । 

कार्यक्रमकाे लागि नगरपालिकाले प्रत्येक वडाबाट ५० देखि एक सय ३५ जनालाई रोजगारमा लगाउन छनाेट गरेको जनाएको छ । नगरपालिकाका विभिन्न आयोजनामा काम गर्ने गरी प्रत्येक वडामा पाँच लाख रुपैयाँसम्मको योजना छनोट भएको बताइएको छ । 

आयोजनाकाे लागि सङ्घीय सरकारले ५४ लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामदारले दैनिक आठ घण्टा काम गर्नुपर्ने र कामबापत दैनिक पाँच सय १७ रुपैयाँ पाउनेछन् । 

यस आर्थिक वर्षमा कम्तीमा १५ देखि २० दिनसम्म रोजगार प्रदान गर्ने जनाइएको छ । यस वर्ष पनि नगरपालिकाको एउटा वडामा तीन सयदेखि नाै सय जनाले बेरोजगार फाराम भरेका थिए । यस वर्ष एक वडामा झण्डै पाँच लाख पर्ने गरी नगरपालिकाले ४५ लाख रकम छुट्याएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया