६० वर्ष बित्दा पनि आएन भेलछडाको पानी

 साउन १५, २०७५ मंगलबार १८:३९:१३ | विमल बिष्ट
unn.prixa.net

डोटी – गएको २०१६ सालमा प्रथम आम चुनावमा शिवराज पन्तले केलनाको पानी डोटीको सदरमुकाम सिलगढी र भेल्छडाको पानी पश्चिम चौकी ल्याउने बाचा गर्नुभयो ।

उहाँ चुनाव जितेर मन्त्री पनि हुनुभयो । उहाँले कलेनाको पानी जिल्ला सदरमुकाम ल्याउने बाचा त पूरा गर्नुभयो । भेल्छडाको पानी पश्चिम चौकी पु¥याउने बाचा भने बिर्सिनुभयो । त्यसपछिका चुनावमा भेल्छडाको पानी सबैका लागि प्रमुख चुनावी मुद्दा नै बन्यो तर निर्माण कहिल्यै पूरा भएन ।

‘शिवराज पन्त मन्त्री हुँदा सायल भेल्छडाको पानी पश्चिम चौकीमा ल्याउने भन्ने कुरा उठेको थियो रे, त्यति बेलादेखि यहाँका बासिन्दाहरुले भेल्छडाको पानीको आशा गरे तर त्यो सपना मात्रै भयो,’ डोटी आदर्श गाउँपालिका ३ का चन्द्रदेव पाठकले भन्नुभयो, ‘हामीलाई भोट माग्दा सबैले आश देखाए तर बाचा कसैले पूरा गरेनन् ।’ 

गाउँपालिकाको केन्द्र मौवा नगर दहमा अहिले पिउनलाई पनि पानी नभएको भन्दै स्थानीयबासिन्दा नेताहरुप्रति आक्रोशित भएका छन् । गएको २०४८ साल यताका सबै चुनावमा भेल्छडा खानेपानी योजना चुनावी मुद्दा बने पनि कसैले चुनावी आश्वासन पूरा नगरेको स्थानीयबासिन्दाको गुनासो छ ।

२०४८ सालको चुनावमा तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार भक्तबहादुर बलायरले भेल्छडा खानेपानीको विषय उठाएको सम्झँदै स्थानीयवासी चन्द्रदेव पाठक भन्नुहुन्छ’, ‘बलायरज्यूले तीन–तीन पटक चुनाव जित्नुभयो, मन्त्री पनि हुनुभयो तर पनि गाउँलेलाई पानी खाने वातावरण अझै बनेको छ्रैन् ।’

तत्कालीन एमाले उम्मेदवार हर्कबहादुर सिंहले पनि २०६४ सालको चुनावमा भेल्छडाकै नाममा भोट मागे तर जितिसकेपछि चार वर्षे कार्यकालमा उहाँले पनि योजना बनाउन नसकेको स्थानीयवासीको आरोप छ ।

२०७० सालमा कांग्रेसबाट चुनाव जितेका वीरबहादुर बलायर र २०७४ मा एमालेबाट चुनाव जितेका प्रेमबहादुर आलेमगरको पनि चुनावी एजेण्डा भेल्छडा बनेको तर काम कसैले नगरेको पाठकले दुखेसो गर्नुभयो । 

‘अब स्थानीय सरकार बनेको छ, गाउँपालिकाले झिना मसिना योजना बनाउनु भन्दा पश्चिम चौकी क्षेत्रको खानेपानीको समस्या समाधानका लागि ठोस योजना बनाइदिए हुन्थ्यो’, स्थानीयबासिन्दा पाठकले भन्नुभयो ।

भेल्छडालाई चुनावी मुद्दा बनाउने पन्त र बलायरद्वय गरी तीन जना मन्त्री हुनुभयो । सिंह चार वर्षसम्म संविधानसभा सदस्य रहनुभयो भने आलेमगर अहिले संघीय सांसद हुनुहुन्छ तर भेल्छडा भने जहाँको तही रहेको आदर्श गाउँपालिका–१, का कृष्णबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्षतको समयमा यता उताको खोलामा पानी फुट्छ र अलि सजिलो हुन्छ तर फागुनदेखि असारसम्म त निकै दुःख हुन्छ ।’ चुनावको बेलामा नेताहरुले पश्चिम चौकीको खानेपानीलाई राजनीतिक मुद्दा मात्रै बनाउने गरेको उहाँको गुनासो छ ।

पानी नभएका कारण व्यवसाय गर्न झनै समस्या भएको स्थानीय होटल व्यवसायीहरु बताउँछन् । गाउँपालिकाको केन्द्र भएपछि चहल पहल बढेको तर पानी नभएका कारण गाउँपालिकामा आउने सेवाग्राहीलाई समेत समस्या भइरहेको उनीहरुको गुनासो छ ।

खानेपानीको समस्या समाधानका लागि बृहत खानेपानी योजना लागू गर्ने तयारी भइरहेको आर्दश गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बताउनुभयो । ‘हामी खानेपानीको सम्भावनाको विषयमा छलफल गर्दैछौं’, अध्यक्ष रोकायाले भन्नुभयो, ‘सायल गाउँपालिकासँग पनि भेल्छडाका लागि छलफल गर्छौं, अन्य सम्भावनाहरु पनि खोजी गर्दैछौं ।’

खानेपानी निर्माणमा प्रदेश सरकार र अन्य संघ संस्थाहरुसँग पनि छलफल चलिरहेको उहाँले बताउनुभयो । आदर्श १ मौवा घर भएका खड्का भन्नुहुन्छ, ‘अब सायली गाडबाट पानी तान्ने वा डिप वोरिङ्ग गर्ने योजना बनाउनुपर्छ ।’

भेलछडाको पानी नआउदा मौवालगायत त्यस क्षेत्रका साविकका कालिकास्थान, खातिवाडा, महादेवस्थान, लामिखाल र बारवाटा गाविसहरुमा खानेपानीको समस्या रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया