भारतबाट हजारौँ नागरिक नेपाल भित्रिँदा क्वरेण्टीन व्यवस्थापनमा समस्या

 जेठ ८, २०७७ बिहिबार २०:१५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खुला सिमानाका कारण भारतबाट दैनिकजसाे हजारौँ नागरिक नेपाल भित्रिँदा क्वरेण्टीन व्यवस्थापनमा समस्या देखिएको छ । नेपालमा कोरोना सङ्क्रमणको जोमिख बढिरहेका बेला खुला सिमानाका कारण भारतबाट हजारौँ मानिस नेपाल भित्रिँदा व्यवस्थापनमा समस्या देखिएको हो ।

पालिकाहरुले निश्चित क्वरेण्टीन व्यवस्थापन गरे पनि ठूलो सङ्ख्यामा नेपाली भित्रिने क्रम नरोकिएपछि व्यवस्थापनमा समस्या देखिएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले बताउनुभयो । 

नेपालमा रहेका भारतीय नागरिकलाई नेपालमै र भारतमा रहेका नेपाली नागरिकलाई भारतीय क्वरेण्टीनमै व्यवस्थापन गर्ने समझदारी बने पनि त्यसो हुन नसक्दा चुनौती थपिएको उहाँले बताउनुभयो ।

शहरी विकास मन्त्रालयमा क्वरेण्टीन सञ्चालन र व्यवस्थापन मापदण्डका विषयमा भएको छलफलमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले होटल तथा रिसोर्टहरुलाई क्वरेण्टीनका रुपमा व्यवस्थापन गर्न सकिने बताउनुभयो । 

प्रधानमन्त्रीलाई वैशाख ७ गते नै त्याे सुझाव बुझाइएको उल्लेख गर्दै उहाँले विदेशबाट आउने नागरिकहरुको उचित व्यवस्थापन गर्न होटलहरुलाई क्वरेण्टीनका रुपमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । 

खाली रहेका होटलहरुलाई निश्चित रकम तिरेर भए पनि जीवनरक्षाका लागि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । गृह मन्त्रालयका उपसचिव गोमादेवी चेमजोङले होटल तथा लजहरुलाई पहिलो प्राथमिकतामा राखेर क्वरेण्टीन निर्माण गर्नुपर्ने बताउनुभयो ।

होस्टेल, सामुदायिक भवन र तालिम केन्द्रहरुलाई पनि क्वरेण्टीनका रुपमा विकास गर्न सके सहज हुने उहाँले बताउनुभयो । निश्चित रकम तिरेर भए पनि क्वरेण्टीनमा बस्छु भन्ने र पैसा तिर्न नसक्ने सम्भावित सङ्क्रमितहरुलाई वर्गीकरण गरेर अगाडि बढ्नुपर्ने सुझाव उहाँले दिनुभयो । 

अवस्था भयावह भए क्वरेण्टीन निर्माणका लागि खुला मैदानको पहिचान गरी अन्तरमन्त्रालय समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो । विदेशबाट आउन चाहने नागरिकहरुको तथ्याङ्क परराष्ट्र मन्त्रालयले तयार गर्नुपर्ने सुझाव पनि बैठकमा सहभागीरुले दिएका छन् । पालिकाहरुले आफ्नो क्षेत्रभित्रका व्यक्तिहरुको तथ्याङ्क यकिन गरेर क्वरेण्टीनलाई व्यवस्थापन गर्नुपर्ने सुझाव सहभागीहरुको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया