नेपालले वर्षौँदेखि गरेको धैर्यको कदर छिमेकीले गर्लान् भन्ने आशा छ : डा. भेषबहादुर थापा

 जेठ ९, २०७७ शुक्रबार ११:२५:३० | डा‍. भेषबहादुर थापा
unn.prixa.net

काठमाण्डौ - नेपाल र भारतबीचको सीमा विवाद पाँच दशकभन्दा लामो समयदेखि चलिरहेको छ । दुई देशबीच यो विषय सुल्झाउन राजनीतिक, कुटनीतिक र सरकारीस्तरमा निरन्तर प्रयास पनि भइरहेको हो ।

समस्या समाधानका लागि विभिन्न संरचनाहरु बनेका छन् र काम पनि गरेका छन् । समाधानको खोजीका क्रममा दुवै देशका प्रधानमन्त्रीहरुको सहमतिमा दुवै देशका परराष्ट्र सचिवले वार्ता गरि सीमा विवाद हल गर्ने भन्ने सहमति भएको हो । तर वार्ता हुन सकेको छैन । सहमतिको खोजीमा विलम्ब भएको छ ।

नेपालले नयाँ नक्सा जारी गरेपछि विवाद बल्झेको हो ? 

दुई देशबीच सीमाका विवाद सुल्झाउन परराष्ट्रसचिव स्तरमा सम्वाद अघि नबढेको परिप्रेक्षमा भारतले नेपालसँग छलफल नै नगरी नयाँ नक्सा निकालेर विवादित भूमिलाई आफ्नो नक्सामा समेट्यो र त्यो आफ्नै भएको दाबी गर्यो । यो कदमले सीमाको विवाद र  समस्या झनै बढाएको हो ।

नेपालले अब त्यो भूमि मेरो हो भनेर प्रतिकार गरेर मात्र भएन । नेपाली नागरिकलाई आश्वस्त बनाउन पनि र दाबी बलियो बनाउन पनि नक्सा नै बनाएर प्रतिकार गर्नुपर्यो । नेपालको यो कदम जरुरी थियो । नेपालले अहिले नक्सा जारी नगरेको भए भारतले केही समयअघि जारी गरेको नक्सालाई हामीले बैधता दिएको जस्तो हुने थियो । 

अहिले आफ्नो क्षेत्र समेटेर नयाँ नक्सा बनाएर नेपालले भारतलाई पनि दिएको छ । चीनलाई पनि यो विवादित भूमि हो भन्ने जानकारी गराएको छ । यसअघि चीनले विवादित भूमि हो भन्ने थाहा नपाएर हो वा जानीजानी त्यो ठाउँबाट भारतसँग व्यापार गर्ने हिसाबले करिडोर बनाउने समझदारी गरेको थियो । त्यो सम्झौतामा चीनले पनि दस्तखत गरेकाले चीनलाई पनि जानकारी दिइएको छ । यो ठीक कुरा हो । यससँगै नेपालले आफ्नो हक र हितलाई कायम गर्ने जमर्को गरेको छ । 

खासमा यो समस्या भारतले नै बल्झाएको हो । दुई परराष्ट्रसचिव स्तरमा वार्ता गरेर समाधान गर्ने भनिएको विषयमा किन भारतले विवादित भूमि आफ्नो नक्सामा समेटेको ? समस्या त्यहाँबाट थप बल्झिएको हो । अहिले नेपालले के गर्यो भन्ने कुरा ठूलो होइन । नेपालले नयाँ नक्सा बनाउन जरुरी थियो । भारतले त्यो भूमि आफ्नो हो भनेपछि नेपालले होइन त्यो भूमि मेरो हो भन्नैपर्थ्यो । यसमा भारतले प्रतिक्रिया नकारात्मक हुने कुरा अस्वभाविक होइन । नेपालले भारतले के भन्ला भनेर चिन्ता लिने होइन, आाफ्नो भूमि दाबी गर्ने हो । 

अब गर्नुपर्ने के त ?

कोरोनाको सङ्क्रमणले विश्वब्यापी प्रभाव पारेको बेलामा एक अर्काका नागरिक एक अर्को देशमा बिचल्लीमा परेको बेला नेपाल र भारतबीच सीमा विवादको विषय पनि सुल्झाउनुपर्ने भएको छ । विगतमा सहमति गरिएको जस्तो दुवै देशका प्रधानमन्त्रीहरुको सहमतिमा विदेशसचिव स्तरमा समाधान गर्ने कि अरु प्रक्रिया अपनाउने हो ? समस्या समाधानका लागि गहिरो कुटनीतिक अभ्यास आवश्यक देखिएको छ ।

नेपालले त गर्नुपर्ने कुरा गरिसक्यो । विवादित क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेपछि त्यो गलत हो भनेर त्यो भूमि आफ्नो नक्सामा समेटेर नयाँ नक्सा निकालेर दस्ताबेज सार्वजनिक गरिसकेको छ । तत्काल गर्नुपर्ने कुरा यही हो । तर अब समस्या समाधानका लागि के गर्ने ? पहिलेकै समझदारी अनुसार अघि बढ्ने हो कि नयाँ संरचना बनाउने हो कि के हो भन्नेबारे निष्कर्षमा पुग्नुपर्छ । हामी अहिले चुनौतीपूर्ण अवस्थामा छौं । यो बेलामा राष्ट्र एकढिक्का हुनुपर्छ । यी दुई देशबीचको समस्याको समाधानको विकल्प वार्ताबाहेक केही पनि छैन । कोरोना र यो दुवै समस्या समाधानका लागि अहिले राष्ट्रिय  एकता आवश्यक छ । 

वार्ताको पहल कदमी कसले लिने ? 

नेपालले वार्तालाई सधैं स्वागत गरेको छ । सडक उद्घाटन भएपछि पनि नेपालले वार्तामार्फत नै समस्याको समाधान गरौं भनेको हो । र भारतले पनि वार्तालाई नकारेको छैन । भूमि नक्सामा समेटे पनि भारतले समस्या समाधानका लागि वार्ता र सम्वादको कुरालाई स्वीकारेको छ । नेपालले वार्तामार्फत समस्या समाधान हुनुपर्छ भन्दा भारतले कोरोना भाइरसको समस्या समाधान भएपछि वार्ता गरौं भनेको छ ।

यसको अर्थ वार्ताबाटै निकास निकाल्नुपर्छ भन्नेमा उसको पनि सहमति देखिन्छ । त्यसैले अब वार्तालाई अघि बढाउने सम्वादको ढोका खोल्ने र सही सम्वाद गरी दुवै पक्षले जिम्मेवारीका साथ समस्याको समाधान गर्नुपर्छ । दुवैले छुट्टाछुट्टै नक्सा निकालेपछि कुन चाहिँ सही हो त भन्ने कुराका लागि सम्वाद गर्नुपर्यो नि ।

हठ बेग्लै कुरा हो । तर्क, नक्सा, प्रमाण र समझदारीका आधारमा हामी अब कहाँसम्म पुग्न सक्छौँ भन्ने कुरा महत्वपुर्ण छ । समस्या जटिल छ । तर २००७ सालको क्रान्तियता नेपाल धेरै अघि बढिसकेको छ । विश्वभरि हाम्रो स्थान बलियो हुँदै गएको छ । नेपाल सही बाटोमा अघि बढ्ने र आफ्ना दृढताका साथ अडान राख्न सक्ने हो भने समस्याको समाधान अघि बढ्छ । सार्वभौम देशहरुबीचको सम्बन्धको कुरा वार्ता र सम्वादबाटै हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता पनि छ । हामीले यसैलाई फलो गर्नुपर्छ । 

हामीले नाकाबन्दी पनि भोग्यौं । यस्ता अनेकौ अनुभवहरु भए । तै पनि नेपाल धैर्यताका साथ बसेको छ । समस्या देखिनासाथ आत्तिनु हुँदैन । मात्तिनु पनि हुँदैन भन्ने हाम्रो मान्यता हो । हामीबिचमा विगतमा गरेका दुईपक्षीय सहमतिहरु, आधारहरु, लचकताहरुलाई पार गरेर अघि बढेको अनुभव पनि छ । नेपाल धैर्यताका साथ बसेको छ र यसको कदर छिमेकीले पनि गर्लान् भन्ने नेपालको आशा र अपेक्षा छ । 

पूर्व परराष्ट्रमन्त्री डाक्टर थापासँग लक्ष्मण कार्कीले गरेको कुराकानीमा आधारित 

अन्तिम अपडेट: चैत १४, २०८०

डा‍. भेषबहादुर थापा

थापा परराष्ट्रविद हुनुहुन्छ ।

1 Comments

  • इन्द्र प्रसाद तिम्सिना

    May 22, 2020, 5:23 p.m.

    यो समस्याको समाधान द्विपक्षीय वार्ता नै हो, यसका लागि नेपालले सप्रमाण प्रस्तुत हुनुपर्छ साथै दल र नेताहरुको एउटै धारणा आउनुपर्छ र यो धारणा सरकार सापेक्ष नभइ अटल हुनु जरूरी छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया