नवजात शिशुको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’

 जेठ ९, २०७७ शुक्रबार १७:४४:३५ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक – कोरोना भाइसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रो पटकको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उपचारार्थ धुलिखेल अस्पतालमा पुर्‍याइएको केही समयपछि नै मृत्यु भएको थियो । 

उनको १४ दिनको शिशुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले जानकारी दिनुभयो । उहाँका अनुसार आजै शिशुसहित आफन्तलाई अस्पतालबाट घर पठाइएको (डिस्चार्ज गरिएकाे) छ ।

महिलाको शिशु, श्रीमान् तथा आमा र बहिनीलाई समेत आइसोलेसन कक्षमा राखी उपचार भइरहेको निर्देशक डा. माकजुले बताउनुभयो । उहाँका अनुसार शिशुलाई सुरुका दिनमा हल्का जण्डिस देखिएको र शरीरमा आएका स–साना बिमिरा दैनिक रूपमा बालरोग विशेषज्ञको निगरानीले आजसम्ममा निको भएकाले डिस्चार्ज गरिएको हो ।

शिशुको दुई पटक र मृतक महिलाको आफन्तको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालले डिस्चार्ज भएका शिशुसहितका आफन्तलाई सम्बन्धित जिल्लामा एक हप्ताको क्वरेण्टीनमा राख्न र क्वरेण्टीनबाट डिस्चार्ज गर्नुअघि आरडीटी गर्न सुझाव दिएको छ । 

‘यसबीचमा नवजात शिशु वा परिवारका अन्य सदस्यमा कोभिड-१९ का लक्षण देखा परेमात्र पीसीआर परीक्षण दोहोर्‍याउनु पर्ने हुन्छ’, निर्देशक डा. माकजुले भन्नुभयो । उहाँका अनुसार १० दिनकी महिलाको कोरोनाका कारण मृत्यु भएलगत्तै उनका शिशुसहित आफन्तको परीक्षणका लागि स्वाब सङ्कलन गरी सावधानीपूर्वक आसोलेशनमा राखिएको थियो ।

मृतकका श्रीमानका अनुसार वैशाख २४ गते महाराजगञ्जको शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भइ सिन्धुपाल्चोकमा घर गएको केही दिनपछि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । 

बाह्रबिसेमा रहेको अस्पतालमा आरडीटीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उपचारार्थ धुलिखेल ल्याइएको परिवारले जनाएको थियो । गएको शनिबार साँझमात्रै स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले ती महिला कारोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो । मन्त्रालका अनुसार कोरोनाबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो ।

 ती महिलासहित नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया