कतारमा राहत वितरणको जिम्मा एनआरएनएलाई

 जेठ ९, २०७७ शुक्रबार १७:४६:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – गैरआवासीय नेपाली संघ कतारले त्यहाँ समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न वितरण गर्ने भएको छ ।

अहिलेसम्म नेपाली दूतावास, गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग वितरण गर्दै आएकोमा राहत वितरणमा हुनसक्ने दोहोरोपन हटाउन त्यसको जिम्मा एनआरएनएलाई दिइएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यस प्रक्रियामा दूतावासले संरक्षक र सहजकर्ताको भूमिका निभाउने गरी आजदेखि राहत कार्यक्रम नसकिंदासम्म वितरणको सम्पूर्ण जिम्मा एनआरएनएलाई दिएको हो । यसले राहत वितरण प्रक्रियालाई एकीकृत रूपमा छरितो तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यस्तै कतारमा रहेका नेपाली संघसंस्था तथा इच्छुक व्यक्तिहरूले राहत खाद्य सामाग्रीको लागि गैह्रआवासीय नेपाली संघ कतारलाई सहयोग गरिदिन तथा राहत वितरणका लागि स्वयंसेवीहरू उपलब्ध गराइदिन पनि दूतावासले आग्रह गरेको छ ।

राहत खाद्य सामाग्री भण्डारणका लागि  दूतावासले आवश्यक सहयोग गर्नेछ । दूतावासका अनुसार राहत सामाग्री वितरणका लागि समन्वय गर्न दूतावासकोतर्फबाट एकजना प्रतिनिधिलाई समावेश गरिनेछ ।

यस्तै एनआरएनए कतारले राहत खाद्य सामग्री संकलन तथा वितरणको विवरण सार्वजनिक गर्नेछ । यसैगरी राहत खाद्यसामग्री प्राप्त गर्ने व्यक्ति तथा उनीहरुलाई परेको समस्याको जानकारी सहितको नामावली दूतावासलाई पनि उपलब्ध गराउने पनि दूतावासले जनाएको छ ।

संकटको बेला राहत खाद्य सामग्री आवश्यक पर्ने कतारमा रहेका नेपालीहरूलाई गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को फोन नम्बर ७४४४९५९२, ५०१२९९००, ७०९०९७२२ र इमेलः [email protected] मा सम्पर्क गर्न दूतावासको अनुरोध छ ।

 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया