कतार सरकारद्वारा नेपाली श्रमिकलाई डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सहयोग

 जेठ ९, २०७७ शुक्रबार १९:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा रहेका नेपाली श्रमिकका लागि त्यहाँको सरकारले खाद्यान्न उपलब्ध गराउन डेढ करोड रुपैयाँ सहयोग गरेको छ ।

कोरोनाको कारण रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतार सरकारले १ लाख ३४ हजार डलर अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा कतार सरकारले खाद्यान्न गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको हो । पन्तले सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सकृयतामा नेपाली श्रमिकलाई वितरण भइरहेको पनि बताउनुभयो ।

कतारले एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यान्न संघलाई दिएको संघका सचिव आरके शर्माको भनाइ छ ।

त्यहाँ रहेको नेपाली दूतावासका अनुसार कतारमा ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले बिहीबार प्रकाशित गरेको सूचना अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४५ जनामा जाँच गर्दा थप १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण भेटिएको संघको कतार शाखाका अध्यक्ष मोहम्मद मुक्तदाले जानकारी दिनुभयो ।

कतारमा ६ सय ८८ जना कोरोना सङ्क्रमित निको भएको र एक जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको मुक्तदाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया