जापानको नारिता उड्यो नेपाल एयरलाइन्स

 जेठ १०, २०७७ शनिबार ६:१९:४६ | रासस
unn.prixa.net

काठमाण्डौ - लकडाउनका कारण नेपालमा रोकिएका केही जापानी  तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति पौने १० बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिनुभयो । जम्मा २ सय ६८ यात्रुमध्ये जापानमा बसोबास गर्ने १ सय ९७ नेपाली छन् । 

नेपालमा रहेको जापानी दूतावासका पहलमा निगमको वाइडबडी जहाजले चार्टर्ड उडान गरेको बताइएको छ । लकडाउनमा निगमको जापानमा यो तेस्रो पटकको चार्टर्ड उडान हो । नारितामै यसअघि यही जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रो पटक चार्टर्ड उडान गरेको थियो भने पहिलो चार्टर्ड उडान गएको चैत २८ गते निगमले नारितामा गरेको थियो ।

नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमको वाइडबडी जहाजले काठमाण्डौको सुमेघ टूर एन्ड ट्राभल्स प्रालिसँग काठमाण्डौ–नारिता (जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सले नारितामा गएको फागुन १९ गतेदेखि सीधा उडान सेवा सुरु गरेको थियो । कोभिड-१९ को सङ्क्रमण विश्वभर फैलिएपछि त्यस गन्तव्यको उडान अहिले स्थगन भएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • राजेन्द्र रेग्मि

    May 23, 2020, 7:44 a.m.

    जापान , कोरिया , हङकङ मात्रै होइन, अब कतार , मलेसिया, साउदी अरब , ओमान , कुवेत , बहराइन, यु ए इ तिरका नेपालीलाई पनि ल्याउनु लैजानु उडानु पर्यो नेपाल एयर लाइन्स...

  •  0 Reply

तपाईको प्रतिक्रिया