खोटाङका कोरोना सङ्क्रमित युवकका परिवारसहित ४३ जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ'

 जेठ १०, २०७७ शनिबार १६:२०:२६ | रासस
unn.prixa.net

खोटाङ – कोरोना सङ्क्रमित खोटाङका एक युवकका परिवारसहित ४३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना सङ्क्रमित युवाको आठ जना परिवार, उनीसँगै बसमा आएका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको स्वाब सङ्कलन गरेर परीक्षण गर्न विराटनगर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हलेसी तुवाचुङ नगरप्रमुख इवन राईले जानकारी दिनुभयो । 

उनलाई काठमाण्डौबाट गएको वैशाख १२ गते उद्धार गरेर ल्याइएका हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

‘काठमाण्डौबाट उद्धार गरेर ल्याइएकामध्ये ३३ जनाको स्वाब सङ्कलन गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा एक युवकको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो’, राईले भन्नुभयो । 

एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै अन्य व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण भए/नभएको यकिन गर्न सङ्क्रमित युवकसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा पुगेका ४३ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गर्न पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । 

जिल्लामा एक युवकमा सङ्क्रमण भेटिएपछि सङ्क्रमित युवकसँग सम्पर्कमा पुगिसकेका अन्य व्यक्तिको पनि पहिचान गरेर पीसीआर परीक्षण गर्न कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । लकडाउनकाे मारमा परेका स्थानीय बासिन्दालाई हलेसी नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउने ती युवक बा ४ ख २२११ नम्बरको बसमार्फत गाउँ आएका थिए । 

यस बसमार्फत ५१ जना यात्रा गरेर जिल्ला आएकामा उनीसहित ३८ जना त्यही नगरपालिका भित्रिएकाे वडाध्यक्ष चइन्द्र राईले जानकारी दिनुभयो । 

काठमाण्डौ पेप्सीकोला बसेर एक फाइनान्समा काम गर्दै आएका उनी होम क्वरेण्टीनबाट निस्किएपछि गाउँकै आहाल निर्माण, खानेपानीको ट्याङ्की सरसफाइलगायतका सामाजिक काममा खटिएका थिए । आहाल खन्ने क्रममा १२ जना र ट्याङ्की सफा गर्दा १५ जनाभन्दा बढी छिमेकीसँग उनको प्रत्यक्ष सम्पर्क भएको जनाइएको छ । 

सङ्क्रमित युवकसँगै एउटै बसको सिटमा यात्रा गरेर आएका व्यक्तिको पीसीआर रिपोर्टसमेत नेगेटिभ आएको जिल्ला अस्पताल मेडिकल अधिकृत डाक्टर शैलेस श्रेष्ठले जानकारी दिनुभयो ।

‘अहिलेसम्म सङ्क्रमित युवकको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन’, उहाँले भन्नुभयो, ‘सङ्क्रमण देखिएलगत्तै आइसोलेशनमा राखिएका उनको मङ्गलबारदेखि विराटनगरको कोरोना अस्पतालमा उपचार भइरहेको छ ।’

गाउँमा हुने सामाजिक काममासमेत सक्रिय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन तथा एक वडाबाट अर्को वडा आवत जावत गर्न पूर्णरुपमा रोक लगाइएको हो । 

लकडाउनकाे कारण घर फर्कन नपाएर अलपत्र परेका नगरवासीलाई गत वैशाख १२ र १३ गते नगरपालिकाले २५ वटा रिजर्भ गाडी पठाएर एक हजार तीन सय १८ जना उद्धार गरेर ल्याएको थियो । 

नगरपालिकाले ल्याएका नगरवासीलाई अनिवार्य रुपमा १४ दिनसम्म होम क्वरेण्टीनमा बस्ने गरी १० बुँदे प्रतिबद्धता गराएको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया