बाँकेका २७ सहित थप ३६ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ५८४ पुग्याे

 जेठ १०, २०७७ शनिबार १६:४७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शनिबार दिउँसाे थप ३६ जनाकाे काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार याेसँगै नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या पाँच सय ८४ पुगेकाे छ । शनिबार बिहानमात्रै ३२ जनाका काेराेना पुष्टि भएकाे थियाे । 

मन्त्रालयका अनुसार पछिल्लाे विवरण अनुसार सबैभन्दा धेरै बाँकेका २७ जना सङ्क्रमित भएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँके नरैनापुरका २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३ राष्ट्रिय प्रावि गेगलीमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुरकै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो ।

यस्तै सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका चार जनालाई सङ्क्रमण पुष्टि भएको छ ।  उनीहरुमध्ये २० वर्षका दुई जना, २२ र २७ वर्षका एक एक जना रहेको मन्त्रालयले जनाएको छ । उनीहरु चारै जनामा आरडीटी पोजेटिभ भएपछि पीसीआर गर्दा पनि पोजेटिभ देखिएको हो । 

त्यस्तै सुर्खेतमा दुई जना पुरुष र एक जना महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै कोशी अस्पतालमा झापाका ३३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । बर्दिया बडैयाताल ७ का एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा काेराेना सङ्क्रमितमध्ये अहिलेसम्म ७० जना उपचारपछि निकाे भएका छन् भने तीन जनाकाे ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया