अमेरिकन किराले मकै बाली सखाप, सङ्खुवासभामा खाद्यान्न सङ्कट हुने

 जेठ ११, २०७७ आइतबार १४:७:५८ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - जिल्लाका विभिन्न ठाउँका खेतबारीमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप बढेपछि कृषकहरु चिन्तित भएका छन् । कहिले नाम नसुनेको र नदेखेको किराले खेतबारीभरि लहलह फलेको मकै बालीका सबै पात र गुभो खाएपछि कृषकहरु चिन्तित भएका हुन् । एक महिनादेखि फौजी किराको प्रकोप बढेपछि मकै कसरी जोगाउने भन्ने चिन्तामा आफूहरु परेको उनीहरुको भनाइ छ ।

बालीसँगै बाली पनि खेर

खाँदबारी नगरपालिका वडा नम्बर–८, पाठक गाउँकी कृषक टिकामाया राईले बारीभरि लगाएको मकै किराले खान थालेपछि चिन्तित बनेको बताउनुभयो । हली गोरु नभएको उहाँले दैनिक एक हजार रुपैयाँको हली गोरु किनेर बारीमा लगाएको मकै किराले खाएपछि आफू ठूलो नोक्सानमा परेकी बताउनुभयो । ‘बल्लतल्ल हली गोरु र खेताला किनेर बारीमा लगाएको मकै एक्कासि मर्न थाल्यो । आफ्नो मिहिनेत त खेर गयो । बाली पनि खेर गयो । कसले हेर्छ हाम्लाई, कसैले चासो दिँदैनन्,’ कृषक राईले गुनासो पोख्नुभयो । 

उहाँजस्तै सोही वडाका अर्का कृषक देवेन्द्र खत्रीले दुःखले गोडमेल गरेको मकैका बिरुवा टुप्पोदेखि मर्दै गएपछि आफ्नो मिहिनेत खेर जाने चिन्ताले सताएको बताउनुभयो । उहाँले यतिका वर्षसम्म गाउँघरमा कहिल्यै नदेखिएको किराले मकैबाली नष्ट बनाएको बताउनुभयो । ‘किराले मकैको पात र गुभो खाएर सखाप पार्न थालेको छ । बारीका सबै बाली नष्ट बनाइसक्यो । कसैले चासो नदेखाउँदैनन् । बिरुवा जोगाउन सकिन्छ कि भनेर कीटनाशक औषधि छर्कन सुरु गरेको छु । त्यो पनि बजारमा पाउन छोडेको छ,’ कृषक खत्रीले भन्नुभयो । 

विषादीको अभाव 

फौजी किराले बारीका मकैबाली सखाप बनाएपछि कीटनाशक औषधि र परामर्शको लागि कृषि ज्ञान केन्द्रको कार्यालयमा आउनुभएका खाँदबारी नगरपालिका वडा नम्बर–९, तुम्लिङ्गटारका कृषक इन्द्रबहादुर मगरले बताउनुभयो, ‘फौजी किराले अहिले खाँदबारी नगरपालिकामा मात्रै नभएर जिल्लाका धेरै ठाउँका मकैबालीलाई असर गरेको छ ।’ बजारका एग्रोभेटहरुमा विषादी पाउन छोडेको छ । कृषि ज्ञान केन्द्रले पनि छैन भन्छ  । ‘हामी किसानले मकैबाली कसरी जोगाउने भने चिन्ता र पीडामा छौँ,’ कृषक मगरले भन्नुभयो । 

जिल्लामा दश स्थानीय तहमध्ये ९ वटामा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाका खाँदबारी, चैनपुर, पाँचखपन, धर्मदेवी र मादी नगरपालिका र सभापोखरी, सिलिचोङ, चिचिला र मकालु गाउँपालिकामा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र खाँदबारीका प्रमुख गोविन्दप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार गएको वर्ष चैनपुर नगरपालिकाको नम्बर वडा १० मा एक जना किसानको बारीमा फौजी किरा देखिएको थियो ।

‘चैनपुर नगरपालिका वडा नम्बर ५, ६, १० र ११, मादी नगरपालिका वडा नम्बर–४, ५ र ८ र धर्मदेवी नगरपालिका–२, ४ र ८, खाँदबारी नगरपालिका वडा नम्बर ४, ९ र ११, पाँचखपन नगरपालिकाको वडा नम्बर ४ मा धेरै क्षति पु¥याएको छ,’ आचार्यले भन्नुभयो । ‘हामीसँग भएको विषादी अलिअलि किसानलाई वितरण गर्दै आएका छौँ । सबै स्थानीय सरकारलाई औषधि खरिद गरेर स्थानीय स्तरमा वितरण गर्न अनुरोध गरेका छौँ । लकडाउनको कारण बजारमा एग्रोभेटहरुमा औषधि सकिएको खबर आइरहेको छ ।’

खाद्यान्न सङ्कट 

मकैबालीमा फौजी किरा देखिएपछि जिल्लाका विभिन्न ठाउँका किसानबाट खबर आइरहेको र कृषि ज्ञान केन्द्रबाट प्राविधिक पठाएर विषादी छर्किने र परामर्श दिने काम भइरहेको केन्द्रका प्रमुख आचार्यको भनाइ छ । 

फौजी किराको प्रकोपले हिउँदमा मकैबाली र पछि धान बाली र तरकारी बालीलगायत घाँस बालीलाई समेत नष्ट गर्ने गर्दछ । फौजी किराको प्रकोप नियन्त्रण नभए जिल्लामा खाद्यान्न सङ्कट हुने र सयौँ मेट्रिक टन मकै बालीको उत्पादन घटने कृषि केन्द्रको आकलन छ । अहिले कृषकहरु फौजी किराबाट बाली जोगाउन विषादी छर्कन थालेका छन् । 

बाली लगाउनुअघि बिउको उपचार गर्ने, गहिरो खनजोत गर्नुपर्ने र त्यति गर्दागर्दै रोग लागेमा एजाडिराक्टिन बेन्जोइड नामक १ ग्राम विषादीमा साढे २ लिटर पानी घोलेर छर्किनुपर्ने कृषि प्राविधिकहरुको भनाइ छ । 

७ सय ५० हेक्टरको मकै नष्ट 

सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म ३ हजार हेक्टर मकैबाली सङ्क्रमित भइसकेको छ भने ७ सय ५० हेक्टरमा लगाइएको मकैबालीलाई फैजी किराले नष्ट गरिसकेको छ । ६६ हेक्टर मकैबालीमा लागेको किरा नियन्त्रणमा आएको कार्यालयले जनाएको छ । 

सङ्खुवासभामा १२ हजार ६३ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । पछिल्लो समय उन्नत जातका बिउको कारण उत्पादन बढेर औसतमा १.२७ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया