ओमानमा सोमबारदेखि कोरोना परीक्षण केन्द्र थपिंदै, कोरोना सम्बन्धी निर्देशन उल्लंघन गरे जरिवाना

 जेठ ११, २०७७ आइतबार १५:३५:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – ओमानले मे २५ अर्थात भोलिदेखि कोरोना परीक्षणको लागि थप परीक्षण केन्द्र विस्तार गर्ने भएको छ ।

ओमानमा रहेको नेपाली दूतावासले जनाएअनुसार त्यहाँको स्वास्थ्य मन्त्रालयबाट कोभिड–१९ को लक्षण देखिएकाहरूलाई घाला औद्योगिक क्षेत्र, सम्पदा तथा संस्कृति मन्त्रालयको माबेला औद्योगिक क्षेत्र र दारसाइट, शारदी, रुसेल अवस्थित मेडिकल फिटनेस परीक्षण केन्द्रहरूमा थप परीक्षण केन्द्रहरूको व्यवस्था गरिने भएको हो ।

साथै कोरोना भाइरस सम्बन्धी निर्देशनहरू उल्लंघन गरिएको पाइएमा आर्थिक जरिवानाको व्यवस्था लागू भएकोले स्वास्थ्य सम्बन्धी सम्पूर्ण निर्देशनहरू पालना गरी स्वस्थ रहन तथा जरिवानाबाट जोगिन पनि त्यहाँ रहेका नेपालीहरुलाई दूतावासले आग्रह गरेको छ ।

दूतावासले ओमानमा रहेका नेपालीहरूको अवस्था बुझ्न गरेको अनलाइन सूचना संकलनबाट प्राप्त विवरणहरूबारे नेपाल सरकारसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

दूतावासले अहिलेसम्म फारम नभरेका अन्य नेपालीहरूलाई पनि https://om.nepalembassy.gov.np/information-collection-form/  लिंकमा गएर आफ्नो विवरण भर्न आग्रह गरेको छ ।

अहिलेको यो महामारीको बेला ओमानमा रहेका नेपालीहरूलाई कुनै समस्या परेमा  ह्वाट्सअप नम्बर ७१५९२४९० र टेलिफोन नम्बर २४६९६१७७ र २४६९६८८३ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यस्तै दूतावाको हटलाइन नम्बर ७१५९२४९०, ७१५३०८४० र श्रम सहचारीको नम्बर ७१५९२५०६ मा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रको अवसरमा  इस्लाम धर्मावलम्बीहरूका साथै ओमानमा रहेका सबै नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै सुरक्षित रहन समेत दूतावासले आग्रह गरेको छ ।

ओमानमा आइतबारसम्ममा ७ हजार २५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये १८ सय ४८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ३६ जनाले ज्यान गुमाएका छन् । ओमानले राष्ट्रियता नखुलाउँदा कति नेपाली सङ्क्रमित छन् भन्ने जानकारी दूतावाससँग छैन ।

 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया