'जोखिम बढ्यो, किट छैन'

 जेठ ११, २०७७ आइतबार १८:१२:२८ | रासस
unn.prixa.net

कैलाली – कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ । यही जेठ ९ गते जानकी गाउँपालिकाका तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । 

किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो । 

‘जोखिम बढेको छ, किट छैन । परीक्षणको दायरा बढाउन सकिएको छैन’, उहाँले भन्नुभयो, ‘प्रदेश सरकारसँग समन्वय गर्दा पनि किट पाइएको छैन । आफ्नै स्रोतले खरिद गर्न पनि सम्भव देखिँदैन ।’ उहाँले आरडीटी र भीटीएम दुवै किट नहुँदा परीक्षणको काम पूर्णरुपमा रोकिएको जानकारी दिनुभयो । 

नगरपालिकामा अहिले एक सय ६० जना क्वरेण्टीनमा रहेका छन् । भारतबाट नागरिक आउने क्रम बढेसँगै क्वरेण्टीनकाे व्यवस्थापनमा समेत नगरपालिकाले काम गर्दै आएको उहाँले बताउनुभयो । 

नगरपालिकाको प्रोफाइलका अनुसार १६ हजार नागरिक भारतमा रहेको उहाँले बताउनुभएको छ । उहाँले यस्तै अवस्था रहने हो भने पालिकाले धेरै दिन थेग्न नसक्ने भन्दै अहिलेको अवस्थामा कम्तीमा पाँच हजार नागरिक नगर भित्रन सक्ने बताउनुभएको छ ।

त्यस्तै सङ्क्रमण देखिएको जानकी गाउँपालिमा समेत किट नहुँदा कोरोना परीक्षण रोकिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका ४२ जना आफूहरुको सम्पर्कमा आए पनि परीक्षण किट नभएका कारण कुनै काम गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताउनुभयो । 

उहाँले दिनप्रतिदिन सयौँको सङ्ख्यामा भारतबाट नागरिक आउन थालेको बताउँदै परीक्षणको दायरा बढाउन नसकेकै कारण समुदायमा त्रास फैलिएको बताउनुभएको छ ।

स्वास्थ्य शाखा प्रमुख चौधरीले क्वरेण्टीनमा बसेकाको समय पुगिसकेको भए पनि किट नभएकै कारण जाँच गर्न नसकिएको बताउनुभएको छ । जानकी गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वडा नम्बर ४ को मोतिनगर र वडा नम्बर ७ को बेलासपुर सिल गरिएको छ ।

भजनी नगरपालिकामा पनि किटको अभाव देखिएको छ । नगरपालिकामा किट नहुँदा क्वरेण्टीनकाे समय पुगेकाहरुलाई होम क्वरेण्टीनमा पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख कीर्तिसिंह विकले बताउनुभएको छ । 

मानिसको चाप दिनप्रतिदिन बढ्दै गएको बताउँदै विकले प्रदेश सरकारसँग समन्वय गर्दा पनि आउँछ भन्ने प्रतिक्रिया पाउने गरेको तर किट प्राप्त गर्न नसकिएको जानकारी दिनुभयो । 

उहाँले नगरपालिकाले किट खरिदका लागि पहल गर्दा एक किटको मात्र एक हजार एक सय पर्ने भनेपछि नगरपालिकाको स्रोतले किट खरिद गर्न नसकिने बताउनुभयो ।

नगरपालिकामा एक सय ५० भन्दा बढी मानिस क्वरेण्टीनमा रहेका छन् । भारतसँग सिमाना जोडिएको लालभोजी र खैलाडमा सीमा प्रवेश गर्न खोज्ने नागरिकलाई सिमानामै रोकेर उनीहरुको व्यवस्थापन गरिएको छ ।

जोसिपुर गाउँपालिकामा समेत आरडीटी र भीटीएम किटको अभाव हुँदा परीक्षणको दायरा बढाउन नसकिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया