काठमाण्डौमा निर्माण हुने ४ नयाँ शहरको डीपीआर तयार

 जेठ ११, २०७७ आइतबार २१:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकाभित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ । 

काठमाण्डौ उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाण्डौ उपत्यका भौतिक विकास समितिले चार वटा नयाँ शहर निर्माणको डीपीआर तयार भएको बताएको छ । 

समितिको आइतबार बसेको १३ औँ बैठकले दुई वटा नयाँ शहर (काठमाण्डौ नैऋत्य र काठमाण्डौ हरित) को डीपीआर स्वीकृत गरेको हो । बाँकी दुई वटा शहर (काठमाण्डौ ईसान र काठमाण्डौ आग्नेय) को यही जेठ २५ गते बस्ने १४ औँ बैठकले स्वीकृत गर्ने काठमाण्डौ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताउनुभयो । 

समितिको जेठ २५ गतेको बैठकले डीपीआरलाई स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्को बैठकमा पेस हुने छ र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा जाने छ । काठमाण्डौ उपत्यकाभित्र चार वटा आधुनिक नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ । न्यूनतम आठ आनाको कित्ताकाट गरी खरिद/बिक्री गर्न सकिने छ भने त्यसभन्दा कमको कित्ताकाट गर्न पाइने छैन । 

चार वटा आयोजनामध्ये एक लाख रोपनी क्षेत्रफल भएको काठमाण्डौ ईसानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नको लागि १२ करोड रुपैयाँ विनियोजन भएकोमा भ्याटबाहेक सात कराेड रुपैयाँ र बाँकी तीन वटा परियोजनाको अध्ययनका लागि दुई/दुई करोड रुपैयाँ विनियोजन गरेकोमा भ्याटबाहेक एक करोड ४० लाख रुपैयाँ खर्च भएको तिवारीले बताउनुभयो ।

एक लाख रोपनी क्षेत्रफल रहेको काठमाण्डौ ईसान (पूर्व-उत्तर) को डीपीआर निर्माण फिनल्याण्डको हेलेन एण्ड कम्पनी कम्पनी र जेके एसोसिएट्सले गरेको छ । अन्य ती नवटा आयोजनाको डीपीआर निर्माण भने नेपाली कम्पनीले नै गरेका हुन् । 

चार वटा परियोजनामा काठमाण्डौ ईसान (पूर्व-उत्तर), काठमाण्डौ आग्नेय (पूर्व-दक्षिण), काठमाण्डौ नैऋत्य (दक्षिण-पश्चिम) र काठमाण्डौ हरित शहर (उत्तर) रहेका छन् । जसमध्ये काठमाण्डौ ईसानको क्षेत्रफल एक लाख रोपनी छ भने अन्यको १० हजार रोपनी रहेको छ ।  

परियोजनामा काठमाण्डौ ईसान (पूर्व-उत्तर) नयाँ शहर विस्तार क्षेत्र जसको कुल क्षेत्रफल एक लाख रोपनी क्षेत्रफल रहेको छ । यो परियोनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेयिगम, मुलपानी, गोठाटार हुँदै मनोहर पुल भक्तपुर जाने पुरानो बाटोसम्म, उत्तरतर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिणतर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटीलगायतको ठाउँसम्म रहेको छ ।  

काठमाण्डौ आग्नेयको कुल क्षेत्रफल १० हजार रोपनी रहेको छ । यो आयोजनामा पूर्वतर्फ अरनीको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक वनलाई बाहिर पार्दै जाने छ ।

पश्चिमतर्फ खहरे खोला, बालकोट बिरुवा सडक, पानी ट्याङ्की, अमरनगरलगायतका ठाउँ रहेको छ । उत्तरतर्फ अरनिको राजमार्गको सिमाना रहेको छ भने दक्षिणमा भक्तपुरको रानीकोट जङ्गलको छेउसम्म रहेको छ ।

काठमाण्डौ नैऋत्यको कुल क्षेत्रफल पनि १० हजार रोपनी रहेको छ । यसको पूर्वमा छ्यासीकोटदेखि फर्सिडोल, वाग्मती नदीको झोलुङ्गे पुलसम्म, पश्चिममा वाग्मती नदी, उत्तरमा साविकको सैंबु गाविसको सिमाना, दक्षिणमा वाग्मती नदीसम्मको क्षेत्र रहेको छ ।

काठमाण्डौ उत्तरको कुल क्षेत्रलफल पनि १० हजार रोपनी रहेको छ । यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनातीर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड चाेकदेखि मनोरथ हुँदै महादेव खोलासम्मको क्षेत्र समावेश गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Sulochan

    May 26, 2020, 5:42 a.m.

    भन्ने एउटा, गर्ने अर्को ...के अझै काठमाडौंले शहर खोजेको छ ? अलिकति जमिन नो छोडे भैहाल्यो नि ...कामकुरो एकातिर , कुम्लो बोकी ....

  •  0 Reply

तपाईको प्रतिक्रिया