त्रिवि शिक्षण अस्पतालमा पीसीआर ल्याब स्थापना

 जेठ १२, २०७७ सोमबार १३:५७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा साेमबार पीसीआर परीक्षण ल्याब स्थापना गरिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाकी निर्देशक डाक्टर रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गर्नुभयो । नेपालमा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाेले परीक्षणको दायरा बढाउन पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएकाे हाे ।

अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर ल्याब परिचालन गरिने उहाँले बाउनुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको बताउनुभयो । अहिले पूर्ण क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उहाँले बताउनुभयो ।

योसँगै देशभरि पीसीआर परीक्षणकाे लागि १७ वटा ल्याब सञ्चालनमा आएका छन् । सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ ।

त्रिविसँग तीन वटा पीसीआर मेसिन रहेका छन् । त्रिविले देशभरि रहेका आफ्ना भौतिक संरचनाहरु आवश्यक परे प्रयोग गर्न पनि तीन वटै तहका सरकारसँग आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया