भारतबाट उद्धार गरिएका २३ जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ'

 जेठ १२, २०७७ सोमबार १६:७:० | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – भारतबाट उद्धार गरी सङ्खुवासभा ल्याइएका २३ जनाको आइतबार पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शनिबार रुपन्देही जिल्लाको सुनवल नाकाबाट सङ्खुवासभा आइपुगेका २३ जनाको स्वाब सङ्कलन गरेर धरानकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । 

२३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, 'यसअघि नै रुपेन्देही जिल्लाको क्वरेण्टीमा २३ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएकाले अहिले स्वाब सङ्कलन गरेर धरान पठाएका थियौँ । सबै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।' 

दुई हप्ताअघि उनीहरु भारतबाट लुकेर सुनवल नाका हुँदै रुपन्देही जिल्ला आइपुगेका थिए । अलपत्र परेका नागरिकले आ-आफ्नो पालिकासँग उद्धारका लागि अनुरोध गरेका थिए । रुपन्देही जिल्लाको क्वरेण्टीनमा बसेका २३ जनालाई नै आ-आफ्नो पालिकाको खर्चमा उद्धार गरिएको मादी नगरपालिका मेयर विदुर सुब्बा लिङ्थेपले जानकारी दिनुभयो । 

जिल्ला ल्याइएकामध्ये मादी नगरपालिकाका नाै, चैनपुर नगरपालिकाका पाँच र खाँदबारी नगरपालिकाका एक जनालाई धर्मदेवी नगरपालिका ४ पिलुवामा निर्माण गरिएको क्वरेण्टीनमा राखिएको छ । 

पाँचखपन नगरपालिकाका सात जनालाई पाँचखपनकै क्वरेण्टीनमा राखिएको छ भने सभापोखरी गाउँपालिकाका एक जनालाई सभापोखरीकै क्वरेण्टीनमै राखिएको छ । उनीहरुकोे पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सबै जना ढुक्क भएको स्वास्थ्य कार्यालयको भनाइ छ । 

जिल्लाको १० वटै पालिकाले आआफ्नो पालिकामा क्वरेन्टीन निर्माण गरेको छ । जिल्लाभर एक सय ८२ जना क्षमताको क्वरेण्टीन बेड निर्माण गरेको छ । अहिलेसम्म १० वटै पालिकामा एक सय ३२ जना क्वरेण्टीनमा रहेका छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया