दैलेखमा पीसीआर किट अभाव

 जेठ १२, २०७७ सोमबार १५:३३:५३ | अमर सुनार
unn.prixa.net

दैलेख – भारतमा मजदुरी रोकिएपछि दिनहुँ हजारभन्दा धेरै जिल्लामा भित्रिने क्रम बढेको बेला दैलेखमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर अभाव भएको छ । दैलेखमा ५० वटा पीसीआर र ५० वटा आरडीटी मात्र बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

आइतबारसम्म दैलेखमा ३८ सय ९७ जना नागरिक क्वरेण्टीनमा छन् । आइतबारमात्र ११ सयभन्दा बढी नागरिक जिल्ला भित्रिएकाे रानीमत्ता प्रहरी चौकीका इञ्चार्ज असई इन्द्रलाल गिरीले जानकारी दिनुभयो । 'जिल्ला भित्रिने क्रम राेकिएकाे छैन, ५० वटा किटले के गर्नु ?' स्वास्थ्य प्रमुख डा. निरञ्जन पन्त हैरान हुनुहुन्छ ।

दिनहुँ भारतबाट नागरिक ओइरहेको अवस्थामा पीसीआर किटको अभावमा परीक्षणमा अवरोध पुगेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताउनुभयो । १५ दिनअघि पाँच हजार पीसीआर किट मागिएको तर अझै नआइपुगेकाे कटेलले गुनासाे गर्नुभयो । कर्णाली प्रदेशको कोरोना 'इपिसेन्टर' भनिएको दैलेखमा ४० हजार नागरिकहरु भारतमा मजदुरी गर्दै आएको सर्वेक्षणबाट थाहा भएको र ३० हजार जति नागरिकहरु १० दिनभित्र आउने आँकलन गरिएको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।

भारतमा मजदुरी गर्न गएका दैलेखका युवा फर्किने क्रम पनि बढेको र कर्णालीको पहिलो कोरोना सङ्क्रमित पनि दैलेखमै देखिएको कारण स्थिति भयावह हुन सक्ने जानकारीसहित सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराइएको प्रतिनिधि सभाका सांसद पार्वती बिशुन्केले बताउनुभयो । सुन्ने तर काम नगर्ने सरकारको शैलीले जनतामा सास्ती भएको उहाँले टिप्पणी गर्नुभयो ।

कर्णाली प्रदेश प्रयोगशालाले किट पठाउँदै आएकोमा दैलेखमा अत्याधिक माग बढेको कारण कोरोना भाइरस जाँच्ने किट अब प्रदेशले व्यवस्थापन गर्न नसक्ने अवस्था भएको बताइएकाे छ । जसकाे कारण पालिकाहरु आफैले किट किनेर ल्याउने, नोजल स्वाब सङ्कलन स्वास्थ्य सेवा कार्यालय सङ्कलन गर्ने र कर्णाली प्रदेश प्रयोगशालामा परीक्षण गर्ने गरी छलफल अगाडि बढेको प्रयोगशालाकी निर्देशक डाक्टर रीता भण्डारीले जानकारी दिनुभयो ।

केन्द्र सरकारले प्रदेशमा पठाउने, प्रदेशले पालिका पठाउने गरिएकाे कोरोना भाइरस जाँच्ने किट अब पालिकाले नै व्यवस्थापन गर्ने जिम्मा थुपारि दिएपछि प्रतिकिट तीन सय जति पर्ने जानकारीकाे आधारमा खरिद प्रक्रिया थाल्ने तयारी भएको नारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले बताउनुभयो ।

प्रदेशको उच्च जोखिममा रहेको दैलेखमा पीसीआर किट व्यवस्थापन गर्न नसक्नु पालिका, स्वास्थ्य सेवा कार्यालय, प्रशासन, प्रदेश र केन्द्र सरकारका निकायहरुको अक्षम्य त्रुटि भएको नेपाल मजदुर किसान पार्टीका जिल्ला सचिव लक्ष्मीकुमार बिकको टिप्पणी छ । २/३ दिनमा पीसीआर परीक्षण नभए क्वरेण्टीनमा आन्दोलन हुन सक्ने उहाँले बताउनुभयो ।

जिल्लाका ११ पालिकाका ९० वडामा जिल्लाभर आठ सय ६७ जनाको मात्र बेड व्यवस्था गरिएकाे क्वरेण्टीनमा खानेपानी, शौचालय असुविधा र सुत्नको लागि ठाउँको अभाव भोगिरहेका नागरिकहरुको स्वास्थ्य परीक्षण र जाँच  गर्न नसके उनीहरुमा मानसिक तनाव थपिन सक्ने टीपीओका नारायण नगरपालिका मनोविमर्शकर्ता सीता चौधरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया