सोती घटना : भेरी नदीमा फेरि अर्का युवककाे शव भेटियाे

 जेठ १२, २०७७ सोमबार १८:४३:३० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम  – भेरी नदीकाे किनारमा फेरि एक युवकको शव फेला परेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार बेलुका भएको घटनामा बेपत्ता भनिएका जाजरकोटको भेरी नगरपालिका ४ का अन्दाजी २१ वर्षीय गणेश बुढाको शव भेटिएको परिवारजनले बताएका छन् । यससँगै यस घटनामा संलग्न तीन जनाको शव फेला परेको हो ।

घटनास्थलबाट २५ किलोमिटर तल भेरी नगरपालिका १२ मा रहेको खोदा खोला नजिक भेरी नदीको किनारामा शव फेला परेको प्रहरीले जनाएको छ । त्यही ठाउँमा आइतबार बेलुका चौरजहारी नगरपालिका १ का २० वर्षीय टिकाराम विकको शव भेटिएको थियो ।

त्यसअघि घटनाकै दिन शनिबार राति नै जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव भेरी नदीमै फेला परेको थियो । तीन वटै शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोट लगिएको मृतकका आफन्तले जनाएका छन् ।

चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी एक युवतीलाई भगाएर बिहे गर्ने योजनाका साथ साथीहरु लिएर गएका नवराजलाई युवतीका आफन्तले कुटेर हत्या गरेको मृतकका आफन्तजनले बताएका छन् । 

यता युवतीका आफन्तले भने भेरी नदीमा खसेर उनीहरुको ज्यान गएको जनाएका छन् । इलाका प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विकको अवस्था अहिलेसम्म अज्ञात रहेको र खोजी कार्य तीव्र पारिएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया