तीन वटा प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन संसदीय समितिको निर्देशन

 जेठ १२, २०७७ सोमबार २०:२९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउने काम समयमै सम्पन्न गर्न संसदीय समितिले सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको सोमबारको बैठकले मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकामहरुमा दुई वर्षभित्र फाइबर बिच्छ्याउने सम्झौता भए पनि सन्तोषजनक काम नभएको भन्दै यस्तो निर्देशन दिएको हो । 

सम्झौता अनुसारको निर्माण कार्यप्रगति न्यून देखिएको उल्लेख गर्दै समितिले स्पष्ट कार्य योजना बनाएर गुणस्तरीय रुपमा काम गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

समितिले आउँदो आर्थिक वर्षमा देशका सबै जिल्लामा रहेको पालिका र वडाहरुमा रहेका शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा विस्तार गर्ने गरी योजना प्राथमिकतामा राख्न पनि निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताउनुभयो । अहिले देशका ४१ जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ ।

समितिले शिक्षा, उद्योगलगायत राज्यका हरेक क्षेत्रका संरचनालाई प्रविधिमैत्री बनाउने योजनामा पनि काम गर्न निर्देशन दिएको छ । 

समितिले कोभिड-१९ ले देशमा बेरोजगारीको अवस्था निर्माण गरी आर्थिक मन्दी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वदेशी उत्पादन र जनशक्ति परिचालन गरी काम गर्ने वातावरण बनाउन पनि निर्देशन दिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया