देशभर गर्मी बढ्दै : साेमबारकाे तापक्रम यो वर्षकै उच्च

 जेठ १३, २०७७ मंगलबार ८:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साेमबार देशका विभिन्न ठाउँको तापक्रम यो वर्षकै उच्च मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार साेमबार भैरहवाको तापक्रम सबैभन्दा धेरै ४२ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै नेपालगन्ज र धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस, वीरेन्द्रनगरको ३८ डिग्री सेल्सियस, दाङको ३७ दशमलव ५ डिग्री सेल्सियस, र काठमाण्डौको ३२ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । यसअघि आइतबार ४० डिग्री सेल्सियस पुगेको दिपायलमा साेमबार भने थोरै राहत मिलेको छ ।

साेमबार दिपायलको तापक्रम ३९ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । यस्तै आइतबार २७ दशमलव १ डिग्री सेल्सियस पुगेको जुम्लाको साेमबारको तापक्रम २६ दशमलव ८ डिग्रीमा मापन गरिएको छ ।

यो वर्ष पूर्व--मनसुनी गतिविधि सक्रिय हुँदा जेठको मध्यसम्म आइपुग्दा पनि बिहान बेलुकी चिसो हटेको छैन । तर दिउँसो गर्मी ह्वात्तै बढेको छ । सामान्यतया चैत, वैशाख र जेठ गर्मी महिना नै भएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् ।

तापक्रम बढ्दै गएसँगै जलवाष्प युक्त हावामा मिसिँदा स्थानीय वायुको प्रभावले दिउँसोपछि मेघगर्जन र हावाहुरी पनि चल्ने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

आज पनि पूर्वको मौसम सामान्यतया बदली हुने तथा मध्ये र पश्चिमी पहाडी क्षेत्रको मौसम आंशिक बदली भइ एकदुई ठाउँमा पानी पर्ने अर्यालको अनुमान छ । मध्य र पूर्वमा अहिले खुलेको ठाउँको मौसम बिस्तारै बदली हुँदै बेलुकीतिर पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ  छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया