जाजरकाेट घटनाकाे छानबिन गर्न समिति गठन, १ महिनाभित्र प्रतिवेदन पेस गर्न अख्तियारी

 जेठ १३, २०७७ मंगलबार १४:४:५४ | रासस
unn.prixa.net

काठमाण्डाै – सरकारले जाजरकोट घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा गृह मन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको जानकारी दिनुभयो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न अख्तियारी दिइएको छ ।

यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाएर ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका ४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेको अवस्थामा झगडा भएको थियो । मन्त्री थापाका अनुसार युवतीलाई भगाएर लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच झैझगडा हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए । जाजरकोट भेरी नगरपालिका ४ बस्ने केटा पक्षका २१ वर्षीय सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षकै पाँच जनालाई अस्थायी प्रहरी पोस्ट रावतगाउँ र सात जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मन्त्री थापाले जानकारी दिनुभयो ।

अहिलेसम्म फेला परेका शव परीक्षणकाे लागि जाजरकोट अस्पतालमा राखिएको छ । मन्त्री थापाका अनुसार मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका ४ काे भेरी नदीको बीच भागमा फेला परेको, रुकुम पश्चिम चौरजहारी १ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका ४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ ।

अहिलेसम्म फेला नपरेकाको खोजी कार्य जारी रहेको छ । मन्त्री थापाका अनुसार भेरी नपा ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको खोजी कार्य जारी रहेको छ । बेपत्ताको खोजीका लागि आवश्यकता अनुसार गोताखोरसमेत परिचालन गरिने उहाँको भनाइ छ । नवराज विकसहितको समूहमा गएको रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का गोपाल बुढाथोकीबीच बाटोबाटै फर्केको, घाइते सुदिप खड्काको मिसन अस्पताल चौरजहारीमा उपचार गरी ‘डिस्चार्ज’ भइसकेको गृहमन्त्रीले जानकारी दिनुभयो ।

केटा पक्षको सम्पर्कमा आएका सबै १२ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाइ सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइएको मन्त्री थापाले बताउनुभयो । उहाँका अनुसार युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयं युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्लासहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

सामाजिक सद्भाव, जातीय सद्भाव कायम राख्न, शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाइराख्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमबाट समन्वयात्मक ढङ्गले काम भइरहेको गृह मन्त्रीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया