'भारतमा काेभिड–१९ बाट निकाे हुने दर ४१.६१ प्रतिशत'

 जेठ १३, २०७७ मंगलबार २०:१५:५१ | रासस
unn.prixa.net

काठमाण्डाै – भारतमा कोभिड–१९ सङ्क्रमित बिरामी निको भएर घर फर्किनेको दर ४१ दशमलव ६१ प्रतिशत रहेको भारतको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएकाे छ । भारतमा कोभिड–१९ काे कारण ज्यान गुमाउनेको सङ्ख्या पनि विश्वको कम क्षति हुने देशहरुमा जस्तै रहेको मन्त्रालयको दाबी रहेको छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले पत्रकार सम्मेलनमा भने, 'अहिलेसम्म ६० हजार चार सय ९० कोभिड–१९ सङ्क्रमित निको भएर घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमण निको हुनेको दर अहिलेसम्म ४१ दशमलव ६१ प्रतिशत रहेको छ । अहिले सङ्क्रमितमध्येमा मृत्यु दर पनि विश्वमा कोरोना भाइरस प्रकोप रहेका अन्य ठूला देशहरुकाे तुलनामा निकै कम अर्थात् २ दशमलव ८७ प्रतिशत रहेको छ ।' 

'भारतमा विश्वमा सङ्क्रमितको औसत सङ्ख्या निकै कम रहेको छ । विश्वभर प्रति एक लाखमा ६९ दशमलव ९ व्यक्तिमा सङ्क्रमण रहेकोमा भारतमा यो दर प्रति लाखमा १० दशमलव ७ व्यक्ति रहेको छ', अग्रवालले भने । यो तुलना विश्वभर सङ्क्रमितको सङ्ख्यामा आधारित रहेर गरिएको उनको भनाइ थियोे ।

भारतमा लकडाउन, सामाजिक दुरी कायम गर्नेजस्ता अन्य मार्ग निर्देशनलाई अन्य देशहरुकाे तुलनामा राम्रोसँग पालना गरिएको र सङ्कटलाई अन्य देशमाभन्दा नियन्त्रणमा राख्न सम्भव देखिएको अग्रवालले बताए ।

उहाँले विश्वका अन्य प्रभावित देशहरूको तुलना गर्दै भने, 'स्पेनमा सङ्क्रमित दर प्रति लाख पाँच सय चार छ भने बेल्जियममा चार सय ९९, अमेरिकामा चार सय ८६ छ ।' धेरै सङ्क्रमण रहेका देशहरूको तुलनामा भारतमा सङ्क्रमितको मृत्यु निकै नै थोरै भएको सहसचिव अग्रवालले बताए ।

उहाँले भने, 'यद्यपि महामारीमा ज्यान गुमाएका हरेक व्यक्तिको मृत्युको पीडाकाे वोध राज्यले गरेको छ । विश्वमा कोभिड–१९ बाट बढी सङ्क्रमित भएका देशहरूमध्ये भारत कम प्रभावित देश हो । कोरोना भाइरसकाे कारण मृत्यु हुनेको सङ्ख्या दर ६ दशमलव ४ प्रतिशत रहेकोले भारतमा मृत्यु हुनेको सङ्ख्या दरलाई निकै कम भनिएको हो ।' 

भारतमा मङ्गलबारसम्ममा एक लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने विगत २४ घण्टामा देशभर सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय ३५ रहेको उनले बताए ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया