डाेटीमा एकैदिन २ हजार ८७९ जना भित्रिए, थपियो चुनौती

 जेठ १४, २०७७ बुधबार १४:२८:३१ | विमल बिष्ट
unn.prixa.net

डोटी – कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझ मात्रै पाँच हजारभन्दा बढी नागरिक भित्रिएपछि डोटीमा कोरोनाको चुनौती थपिएको छ ।

भित्रिएका पाँच हजार नागरिकमध्ये डोटी जिल्लाका मात्रै दुई हजार आठ सय ७९ जना रहेका छन् । राेजगारीकाे सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेलीहरु अहिले दैनिक आ-आफ्नाे जिल्ला फर्किन थालेका छन् । 

जिल्ला प्रवेश गरेका दुई हजार आठ सय ७९ जनालाई जिल्लाका नौ वटै पालिकाले तयार पारेकाे ६७ वटा क्वरेण्टीनमा राखिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । जिल्लाको शिखर नगरपालिकाका नागरिक सबैभन्दा बढी भारतबाट फर्किएका छन् । 

कोरोना भाइरस (कोभिड–१९) जाँच गर्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट नभएका कारण उनीहरुलाई विना जाँच क्वरेण्टीनमा राख्न थालिएको हो ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकामा पाँच सय ६६, शिखर नगरपालिकामा ६ सय ३३, सायल गाउँपालिकामा दुई सय ५९, केआईसिंह गाउँपालिकामा पाँच सय १४, जोरायल गाउँपालिकामा ६३, बोगटान फुड्सिल गाउँपालिकामा दुई सय १४, बडीकेदार गाउँपालिकामा दुई सय ४२, आदर्श गाउँपालिकामा दुई सय ८५, पूर्वीचौकी गाउँपालिकामा एक सय जना गरी कुल दुई हजार आठ सय ७९ जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्वरेण्टीनमा राखिएकाहरुमा महिला ७९ जना, पुरुष दुई हजार सात सय ८४ जना र बालबालिका १६ जना रहेका छन् । त्यस्तै जिल्लामा क्वरेण्टीन बेडकाे सङ्ख्या एक हजार दुई सय ८३, आइसोलेशन बेड सङ्ख्या ५१ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा अहिलेसम्म तीन सय ६९ जनाको पीसीआर परीक्षणकाे लागि स्वाब सङ्कलन गरिएको छ । जसमध्ये तीन सय ५९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।  

जिल्लामा दुई हजार ८२ जनाको आरडीटी परिक्षण गरिएको छ । जसमा दुई हजार ७८ जनाको नेगेटिभ र चार जनाको पोजेटिभ आएको छ । केही दिनयता डोटी जिल्लामा भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ । 

भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न पालिकालाई निकै चुनौती देखिएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट सुदूरपश्चिम भित्रिएकाहरुलाई जिल्लाका नौ वटै पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले उद्धार गरेर दैनिक जिल्लामा भित्र्याउन थालिएको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले बताउनुभयो । 

उहाँका अनुसार उद्धार गरिएकाहरुमा स-साना बालबालिका, महिला तथा वृद्धहरु पनि रहेका छन् । भारतबाट आएका नागरिकलाई विना जाँच क्वरेण्टीनमा राखिन थालेपछि जिल्लामा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयबासीमा त्रास फैलिन थालेको दिपायल पिपल्लाका घनश्याम पाठकले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले अलपत्र परेका आफ्ना नागरिकको उद्धार गर्नुपर्छ तर विना जाँच सबैलाई सँगै राख्दा समस्या हुने भएकाले स्थानीयमा कोरोनाको त्रास फैलिएको छ ।’

जिल्लामा पालिकाले निर्माण गरेका क्वरेण्टीन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मान्यता अनुसार नभएका तथा क्वरेण्टीनमा राखिएकाहरुलाई चाहिने आवश्यक सामग्रीसमेत नभएकोले समस्या हुने स्थिति देखिएको दिपायल राजपुर ४ का टेक शाहले बताउनुभयो । 

यहाँका क्वरेण्टीन सरकारी मापदण्ड अनुसार नबनेकाले समस्या हुँदै आएको स्थानीयको आरोप छ । जिल्लामा निर्माण गरिएका क्वरेण्टीनकाे केही दिनभित्र अनुगमन तथा निरीक्षण गरिने प्रजिअ पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया