लकडाउनले सहरमा घरभाडा तिर्न समस्या, गाउँघरमा किसानलाई भ्याइनभ्याइ

 जेठ १४, २०७७ बुधबार १४:९:३८ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले गएको चैत ११ गतेदेखि देशैभरि लकडाउन घोषणा गरेको छ । तर पूर्वी पहाडी जिल्ला सङ्खुवासभाका विभिन्न ग्रामीण बस्तीका किसानलाई लकडाउनले खासै असर गरेको छैन । विगतका दिनमाजस्तै उनीहरु घरायसी र कृषि कर्ममा व्यस्त रहेका देखिन्छन् । बर्खा लागिसकेकोले घर छाउने र दाउरा काट्नेजस्ता काम गरेर समय बिताइरहेका छन् । 

यस्तै खेतबारीका बाँझो चिर्ने, कोदो रोप्ने, मकै छर्ने र धानको बिउ राख्नेलगायतका कृषि कर्ममा व्यस्त छन् । गाउँघरमा यतिखेर मेला पर्म गर्दै उनीहरुले काम गरिरहेका छन् । गाउँघरमा धेरैजसो पैसामा खेताला किन्नेभन्दा एकआपसमा अर्मपर्मको पुरानो चलन कायमै रहेको पाइन्छ । 

सहरका व्यापारी मारमा

जिल्लामा खाँदबारी, चैनपुर, मादी, धर्मदेवी र पाँचखपन नगरपालिका र सभापोखरी, चिचिला, सिलिचोङ, मकालु र भोटखोला गाउँपालिका गरी १० वटा स्थानीय तह रहेका छन् । तीमध्ये जिल्लाका मुख्य सहर र सदरमुकाम खाँदबारी, व्यापारिक केन्द्र चैनपुर बजार, तुम्लिङटार, मुडे, मानेभञ्जाङ, नुम र गोला बजारका बासिन्दा लकडाउनको कारण घरभित्रै थुनिएर बस्नुपरेको छ । भाडामा घर र सटर लिएर विभिन्न पसल र व्यवसाय सञ्चालन गरेका व्यापारी लकडाउनको कारण मारमा परिरहेका छन् । 

कोरोनाको कारण घरभाडा तिर्न समेत समस्या भएको खाँदबारीका होटल व्यवसायी सम्राट चापागाईंले बताउनुभयो । उहाँले खाँदबारी बजारको मुख्य चोकमा मासिक ६० हजार रुपैयाँमा तीन तले घर भाडामा लिएर होटल सञ्चालन गर्नुभएको छ । 

दूरी कायम गर्दै कृषि कर्म

सहरबजारका व्यापारीलाई घरभित्र बस्दाबस्दा दिग्दार भएपनि गाउँघरका किसानहरुलाई कुनै समस्या नपरेको उनीहरुले बताउने गरेका छन् । खाँदबारी नगरपालिका वडा नम्बर – ४ सेकाहाका भीमबहादुर गुरुङ आफन्तको मृत्यु भएपछि सुनसरीको इटहरी जानुभएको थियो । फर्किने बेलामा सरकारले लकडाउन लागु गर्यो । त्यतै अडकिएका भीमबहादुर एक महिनापछि घर फर्किनुभयो । तर उहाँ अहिले खेतमा एक्लै बसिरहनु भएको छ । उहाँको कसैसँग भेटघाट छैन ।

‘कोरोनाबाट म आफू सचेत छु । मेरो कारणले कसैलाई रोग नसरोस् भनेर एक्लै बसेको हुँ । दिनभरि खेतमा गोरु चराउने, बाँझो जोत्दै गोठमा बसिरहेको छु । खानापिन पनि मेरो यहीँ हुन्छ । अझै एक महिना एक्लै बस्छु,’ भीमबहादुरले भन्नुभयो, ‘म घर आएपछि एक्लै सुरक्षित रुपमा काम गरिरहेको छु । दिन कटाउन कुनै समस्या छैन । काम गर्न भ्याइनभ्याइ छ ।’

बिउ राख्ने काम

लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम गरेर खेतीपातीको काममा लागिरहेका नगरपालिकाको सेकाहाकै अर्का किसान विष्णुप्रसाद गुरुङले बताउनुभयो । ‘अब बर्खा लागिसक्यो । किसानहरुको लागि अहिले बिउ राख्ने समय हो । यति वेला धानको बिउ राखे मात्रै असारमा खेत रोप्न पाइन्छ,’ विष्णप्रसादले थप्नुभयो, ‘लकडाउनले गाउँघरमा ठूलो असर पारेको छैन । धानको बिउ राख्ने, बाँझो चिर्ने र मकै गोड्ने काममा सबै जना व्यस्त छन् ।’

गोठमा बसेर कृषि कर्म

त्यसैगरी काठमाण्डौबाट घर फर्किएका खाँदबारी वडा नम्बर–८ का रामबहादुर कटवाललाई गाउँलेहरुले घरबास नै दिएनन् । जनप्रतिनिधिहरुको रोहबरमा होम क्वरेटीनमा बस्ने सहमति भएपनि छरछिमेकीले बस्न नदिएपछि उहाँ एक्लै खेतको गोठमा बसिरहनुभएको छ । लकडाउनको कडाइ एकातिर भएपनि आफू सुरक्षित रहेर कृषिको काम गरिरहेको उहाँले बताउनुभयो । ‘यतिवेला काम नगरे आउँदो वर्ष हातमुख जोर्न धौधौ पर्छ । खेतीको काम गरिरहेको छु,’ कटवालले भन्नुभयो ।

‘गाउँमा खतरा कम’

हाटबजार र मेलापात नगई गाउँमा नै कृषिको काम गर्दा कोरोनाको डर मान्नु नपर्ने धेरै कृषकहरुको भनाइ छ । सहरबजारमाजस्तो लकडाउनको ठूलो असर गाउँघरमा नपर्ने उनीहरुको बुझाइ छ । गाउँघरमा ठूलो भिडभाड नहुने भएकोले कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने खतरा कम रहेको उनीहरु बताउँछन् । ‘हामीले दिनभरि काम गर्ने हो । मानिसहरुसँग भेटघाट कम हुन्छ । बजारपसल सबै बन्द छन् । त्यसैले ढुक्कका साथ कृषिको काम गरिरहेका छौँ,’ खाँदबारीकै रुद्रबहादुर घिमिरेले भन्नुभयो, ‘व्यक्तिगत सरसफाइ र नियमित रुपमा मास्क परिवारका सबै सदस्य र आफूले प्रयोग गरेका छौँ ।’

मजदुरलाई राहत

गाउँघरमा कृषि कर्ममा व्यस्त रहेपनि सदरमुकाम र आसपासका व्यापारिक केन्द्र र बजारपसल जान कठिन भएको उनीहरुको भनाइ छ । गाउँघरमा हिउँदमा अन्नपात घर भित्रिएकाले ५/६ महिना कुनै सङ्कट नआउने उनीहरुको भनाइ छ ।

गाउँघरमा कृषकहरुलाई तत्काल खाद्यान्नको समस्या पर्दैन । तर दैनिक ज्याला मजदुरीमा काम गर्ने विपन्नहरुलाई स्थानीय सरकारले राहत बाँड्ने काम गरेको खाँदबारी वडा नम्बर –४ का जनप्रतिनिधि जितबहादुर गुरुङले बताउनुभयो । उहाँले लकडाउनले गाउँघरमा उत्पादित वस्तु बजारसम्म लैजान नपाउँदा समस्या भइरहेको बताउनुभयो । 

सहरमा कडाइ

सदरमुकाम खाँदबारी र आसपासका व्यापारिक केन्द्रहरुमा सामाजिक दूरी कायम गर्दै उपभोक्ता, व्यापारी र व्यवसायीलाई किनमेल गर्न बिहान बेलुका छुट दिने गरेको छ । दिउँसो भने अस्पताल आवतजावत गर्ने र अत्यावश्यक कामले मात्र मानिसहरु बजारमा देखिने गरेका छन् । सहरबजारमा बैंक, बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीसमेत आलोपालो गरी कार्यालय खोलेर सेवा प्रदान गर्दै आइरहेका छन् । अत्यावश्यक परेकाहरु मात्रै सवारीको पास लिएर आवातजावात गर्ने गरेको पाइन्छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया