रुकुम पूर्वमा पहिलाे पटक काेराेना सङ्क्रमित भेटिए, ३ जनामा सङ्क्रमण पुष्टि

 जेठ १४, २०७७ बुधबार १९:२६:९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वमा पहिलो पटक काेराेना सङ्क्रमण देखिएकाे छ । बुधबार तीन जना व्यक्तिमा सङ्क्रमण पुष्टि भएकाे हाे ।  

जिल्लाको विकट मानिने पुथा उत्तरगङ्गा गाउँपालिकाका तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा एक महिला र दुई पुरुषसहित तीन जनामा सङ्क्रमण देखिएको हो ।

गाउँपालिकाको वडा नम्बर १४ मा १५ वर्षीया युवती, त्यही वडाका १८ र २३ वर्षीय युवकमा कोरोना पुष्टि भएको प्रतिष्ठानको सूचनामा उल्लेख छ । तीमध्ये एक सङ्क्रमित क्वरेण्टीनबाट आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका थिए । 

तर अहिले उनको पीसीआर रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको हाे । फागुनको अन्तिम हप्ता मलेसियाबाट पुथा उत्तरगङ्‍गा गाउँपालिका घरमा पुगेका उनलाई क्वरेण्टीनमा राखिएको थियो । 

गाउँपालिकाको पहलमा आरडीटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई निगरानी गरिएको थिएन । फेरि उनको पीसीआर परीक्षणको लागि दाङ पठाइएकोमा अहिले कोरोना पोजेटिभ देखिएको गाउँपालिका कार्यकारी अधिकृत रविन्द्र बुढाक्षेत्रीले बताउनुभयो । 

उनीसँगै सङ्क्रमित भएका अन्य दुई जना क्वरेण्टीनमै बसेका थिए । पुथा उत्तरगङ्गा गाउँपालिका १४ को सिद्ध मण्डली माविमा स्थापना गरिएको क्वरेण्टीनमा बसेका दुई र अर्का घरमै बसेका सङ्क्रमितलाई सुरक्षित रुपमा कोरोना अस्पतालमा लैजाने तयारी भइरहेको छ । 

उनीहरूको सम्पर्कमा रहेकाहरुको परीक्षणको लागि गाउँपालिकाले आवश्यक व्यवस्थापनकाे काम सुरु गरेको छ । अन्य दुई जना सङ्क्रमितहरु कहाँबाट आएका थिए भन्नेबारे केही खुलाइएको छैन । 

अन्तिम अपडेट: फागुन २८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया