साेती घटना : थप १ जनाकाे शव भेटियाे

 जेठ १५, २०७७ बिहिबार २१:२९:२२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका ४ का सन्दीप विकको भेरी नगरपालिकाको कालाभुर नजिक शव फेला परेको छ। योसँगै पाँच जनाको शव फेला परेको छ ।

गएकाे शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ काे सोती गाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा बिहीबार प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएका छन् । यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जाहेरीमा उल्लेख भएका थप दुई जनाको खोजी भइरहेको रुकुम पश्चिमका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठकबहादुर केसीले बताउनुभयो । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका ८ का ४२ वर्षीय इन्द्रबहादुर मल्ल, १९ वर्षीय दीपेन्द्र चन्द, ३५ वर्षीय तिलक चन्द, ४६ वर्षीय हर्कबहादुर मल्ल, ४५ वर्षीय लिपेन्द्र मल्ल र २० वर्षीय विनोद मल्ल रहेका छन् ।

चौरजहारी  ८ सोती गाउँकी किशोरीलाई विवाह गर्न भनी आएका भनिएका जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय नवराज विक र उनीसँगै १८ जनाको समूहमा आएकाहरूलाई गाउँलेले आक्रमण गरेका थिए । आक्रमण भएपछि सबै भागेका थिए ।

आक्रमणपछि बेपत्ता भएका ६ जनामध्ये नवराज विक, भेरी नगरपालिका ४ रानागाउँका गणेश बुढा, चौरजहारी १ का टीकाराम सुनार, भेरी नगरपालिका ११ लोकेन्द्र सुनार र भेरी नगरपालिका ४ का सन्जु विकको भेरी नदीमा शव फेला परेको छ । एकजना अझै बेपत्ता छन् । बेपत्ता भएका गोविन्द शाहीको भेरी नदीमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया