बैंक नहुँदा सास्ती : पाँच हजार झिक्न जाँदा तीन हजार बाटोमै सकिन्छ

 साउन १६, २०७५ बुधबार १४:५९:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – बडीकेदार गाउँपालिकाका लेखापाल दलबहादुर धामी बैंक नहुँदा भोग्नु परेको समस्या शब्दमा उतार्न नसक्ने बताउनुहुन्छ ।

उहाँले आफू जिल्ला कैलालीको धनगढीस्थित बैंकहरुमा कामका लागि जाँदा अवहेलना सहनु परेको सुनाउनुहुन्छ । बडीकेदारसहित यहाँका ५ वटा गाउँपालिकामा अझै पनि बैंक खुल्न सकेको छैन । सामान्य बैंकिङ्ग कारोबारका लागि बाहिरी जिल्ला कैलाली जानु पर्ने बाध्यता रहेको छ । ‘पाँच हजारको चेक साट्न कम्तीमा तीन हजार खर्च गरेर धनगढी जानुपर्छ’, धामीले भन्नुभयो, ‘बैंक नहुँदा पूरै सेवा प्रवाह नै खल्बलिएको छ, खर्च पनि हुने गरेको छ ।’ 

डोटीको सबैभन्दा दुर्गम गाउँपालिका हो बडीकेदार । वर्षा सुरु भएपछि गाउँपालिकाबाट ४३ किलोमिटर कच्ची सडक पैदल हिँडेर भिमदत्त राजमार्गको सहजपुर आइपुगिन्छ । त्यहाँबाट धनगढी जान ६० किलोमिटर दक्षिण तिर तथा  सदरमुकाम सिलगढी जान झण्डै एक सय ४० किलोमिटर उत्तरतिरको यात्रा गर्नु पर्ने बाध्यता छ । बैंकिङ कारोबारका लागि कर्मचारी तथा उपभोक्ता समितिहरुलाई समस्या हुने गरेको स्थानीय रोजबहादुर कलेलले बताउनुभयो ।

बैंक नभएकाले योजनाहरुको लागत नै बढ्ने गरेको उहाँको गुनासो छ । ‘एकपटक बैंकमा खाता खोल्न तीन जना अनिवार्य जानुपर्‍यो, जाने बित्तिकै काम हुन्न, कम्तीमा दुई दिन लाग्छ’, बडीकेदार गाउँपालिका वडा नम्बर ४ का अर्का स्थानीय भोजबहादुर देउवाले भन्नुभयो, ‘फटाफट काम भइहाल्यो भने नि चारदिन लागेपछि तीन जनाको खर्च सामान्यतया १५ हजारभन्दा बढी हुन्छ, त्यही काराण पनि विकास निर्माणका योजनाहरुमा लागत बढ्ने गरेको छ ।’ 

चेक साट्न जाँदा सयौंपटक धनगढी, अत्तरिया र सिलगढीका बैंकहरुले हस्ताक्षर मिलेन, सम्बन्धित मान्छे भएन जस्ता अनेकौं बहाना बनाएर बैंकले फकाई दिनाले झन् सास्ती हुने गरेको उपभोक्ताहरु सुनाउछन् ।

कर्मचारीहरुको पनि उस्तै गुनासो छ । नजिक धनगढी पर्ने भए पनि त्यहाँ बैंकले खातामा रकम जम्मा गर्ने, कर्मचारीहरुको तलब राखिदिने काममा बैंकका कर्मचारी आलटाल गर्ने गरेको गुनासो कर्मचारीहरुको छ । सदरमुकाम सिलगढी जानै पर्ने बाध्यता रहने प्रमुख प्रशासकीय अधिकृत दिपकराज पाण्डेयले बताउनुभयो ।

‘नियमले संकलन भएको राजश्व दैनिक जम्मा गर्नु पर्ने प्रावधान छ, महिनामा एक पटक गएर बैंकमा दाखिला गर्नु पर्ने स्थिति छ’, पाण्डेयले भन्नुभयो, ‘जम्मा भएको राजस्व महिना भरी कर्मचारीसँगै राखिँदा चोरी डकैती हुने, मासिने अनियमितता हुने चुनौती पनि बढी छ ।’

प्रत्येक चौमासिकमा सामाजिक सुरक्षाभत्ताको लाखौं रकम बोकेर कर्मचारीहरुले लामो दूरी पार गरेर आउनु पर्दा असुरक्षित महसुस हुने गरेको उहाँले दुखेसो गर्नुभयो । ‘जंगल खोलाको बाटो छ, लाखौं रुपैयाँसँंगै बोक्नु पर्छ’, पाण्डेयले थप भन्नुभयो, ‘बैंक नहुँदा सामाजिक आर्थिक रुपले समस्या भएको छ, सेवा प्रवाहमाथि नै सर्वसाधरणको असन्तुष्टि बढेको छ ।’

डोटीका कतिपय गाउँपालिकामा प्रहरी चौकी नभएका कारण पनि बैंक जान मानिरहेका छैनन् । सर्वसाधरणले लामो समयदेखि गाउँपालिकामा प्रहरी चौकी र गाउँपालिकाको माग गरेका भए पनि पूरा हुन सकेको छैन ।

त्यस्तै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझले आफ्नो गाउँपालिकामा प्रहरी चौकी स्थापना भए पनि बैंक नआउदा निकै समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो गाउँपालिकामा त प्रहरी चौकी स्थापना भएको वर्षौ बितिसक्यो, अहिले बैंक ल्याउन प्रयास गरे पनि आउन मानेका छैनन् ।’
 

अन्तिम अपडेट: चैत १७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया