कैलालीका सात पालिका मिलेर अस्पताल सञ्चालन गर्दै

 जेठ १७, २०७७ शनिबार ८:०:५५ | रासस
unn.prixa.net

कैलाली - कैलालीका पूर्वी क्षेत्रका पालिका टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् ।

देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात पालिका अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् । कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि पालिकाका प्रमुख अस्पताल सञ्चालनको तयारीमा जुटेका हुन् ।
 
शुक्रबार टीकापुर अस्पताल विकास समितिको समन्वयमा जानकी गाउँपालिकामा बसेको बैठकमा स्थानीय प्रमुखबीच सहमति भएको हो । पालिकासहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ शय्याको आइसोलेसन कक्ष अपुग हुने देखिएकाले टीकापुरस्थित सिटी हलमा थप ३० शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालन गर्ने निर्णय गरेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिनुभयो ।
 
“कोरोना अस्पताल सञ्चालनका लागि सबै पालिकाले आवश्यक बजेट व्यवस्था गर्नेछौँ’, चौधरीले भन्नुभयो, “सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले उपचारको पूर्वतयारीमा जुटेका हौँ।’ उहाँले बेडमात्र नभइ भेन्टिलेटरको व्यवस्था गर्न बजेट छुट्याउन तयार रहेको बताउनुभयो ।

अहिले टीकापुर अस्पतालमा एउटा पनि भेन्टिलेटर छैन ।  सात पालिकाका नागरिकले सेवा लिन धनगढीभन्दा टीकापुर अस्पताल सहज हुन्छ ।

बैठकले टीकापुर अस्पतालका मेसु डा जितेन्द्र कँडेललाई अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने बजेटको लागत अनुमान बनाउने जिम्मा दिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।

“अस्पतालका मेसु कँडेलले अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र बजेटको योजना ल्याएपछि  हामी सात पालिका खर्च गर्न तयार छौँ’, रावलले भन्नुभयो, “सबै पालिकाले सहयोग गर्ने प्रतिबद्वता जनाएका छाँै, अब स्थानीयस्तरदेखि उपायको खोजी थालेका हौँ ।’
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया