नेपालमा काेराेना सङ्क्रमित १ हजार ४०१ पुगे, २१९ जना डिस्चार्ज

 जेठ १७, २०७७ शनिबार १७:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शनिबार एकैदिन एक सय ८९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एक सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कपिलवस्तुका ७७ जना, सर्लाहीका १७ जना, सिरहाका ११ जना, धनुषाका सात जना, रौहतटका ६ जना, महोत्तरीका चार जना, झापा र ललितपुरका एक/एक जनामा सङ्क्रमण पाइएकाे हाे । 

त्यस्तै प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका नाै जनामा सङ्क्रमण पाइएको छ । त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परिक्षणमा कपिलवस्तुका तीन जना र दाङका पाँच जना गरी आठ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा बाराका एक र पर्साका दुई गरी तीन जनामा सङ्क्रमण पाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सङ्खुवासभाका दुई जनामा सङ्क्रमण भेटिएको छ ।

अब नेपालमा सङ्क्रमितकाे सङ्ख्या एक हजार चार सय एक पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना उपचारपछि डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । टेकु अस्पतालबाट बुढानीलकण्ठका ३८ वर्षीय पुरुष र टोखाका ४१ वर्षीय पुरुष डिस्चार्ज भएका हुन् ।

त्यस्तै काठमाण्डौको बलम्बु अस्पतालबाट विभिन्न जिल्लाका सातदेखि ४२ वर्ष उमेरका ११ जना डिस्चार्ज भएका छन् । देशभरबाट अहिलेसम्म दुई सय १९ जना निको भएकाे प्रवक्ता देवकोटाले बताउनुभयो । सङ्क्रमणबाट अहिलेसम्म ६ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • KAMAL BARAL

    May 31, 2020, 6:15 a.m.

    कृपया नेपालको नक्सा बिकृत बनाएर नराखौ। सरकारले नयाँ नक्सा जारी गरिसकेको अबस्थामा सरकारको आधिकारि नक्सा राख्ने गरौं।तपाँइले राख्नु भएको नक्सामा लिम्पियाधुरामा रहेको हात्तिको सुँढ जस्तो भाग देखिएको छैन। कृपया सुधार गर्नुहोला कोमल बराल सदस्य सीमा बचाऔं अभियान,नेपाल नक्सा समिति

  •  0 Reply

तपाईको प्रतिक्रिया