यसै वर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप तयार हुने चीनको दावी

 जेठ १८, २०७७ आइतबार ८:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीन सरकारले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप तयार हुने दावी गरेको छ ।

सरकारको सम्बन्धन पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन चीनले जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । ढिलोमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने चीन सरकारले दावी गरेको छ । 

चीन सरकारको स्वामित्व रहेको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन ९एसएएसएसी० ले सामाजिक सञ्जालमार्फत खोप बारे जानकारी दिएको खबरमा उल्लेख छ । वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ्ग इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्ट्सले खोप बनाइरहेका छन् ।

दुई हजारभन्दा बढी मानिसलाई खोप दिएको र अहिले यो खोप दोश्रो चरणको परिक्षणमा रहेको खबरमा उल्लेख छ । एसएएसएसीले प्रतिवर्ष एक सय मिलियनदेखि एक सय २० मिलियन डोज खोप उत्पादन गर्न सक्ने दावी पनि गरेको छ । 

खोप र औषधी पत्ता लागिनसकेकोले अहिले धेरै देश कोरोनाको सङ्क्रमण रोक्न लकडाउनलाई नै विकल्प ठानिरहेका छन् । विश्व स्वास्थ्य संगठनले समेत लकडाउन नै अहिलेको बिकल्प रहेको बताएको भएपनि लकडाउनका कारण अरु समस्याहरु शुरु भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

लामो समयको लकडाउनका कारण मानिसको जनजीवन प्रभावित हुनुको साथै अर्थतन्त्रमा नराम्रो असर परेको छ । खोपबाट मात्रै कोरोना महामारीलाई नियन्त्रणमा लिन सकिने भएकोले अहिले विश्वका थुप्रै बैज्ञानिकहरु कोरोनाविरुद्धको खोप र औषधि बनाउन लागिपरेका छन् । 

पाँच महिनाअघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वका दुइ सय १३ देशमा पुगिसकेको छ । विश्वका ६१ लाख ५६ हजारभन्दा धेरै मानिसलाई सङ्क्रमित बनाएको कोरोना भाइरसका कारण तीन लाख ७० हजार ९ सय भन्दा धेरैको ज्यान गैसकेको छ ।

२७ लाख ३४ हजार सात सय भन्दा धेरै सङ्क्रमित कोरोनालाई जितेर निको भएका वल्र्डओमिटरले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया