सरकारले सङ्कटलाई अवसरमा बदल्ने माैका गुमायाे : डा. रिजाल

 जेठ १८, २०७७ आइतबार १६:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले सङ्कटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट, राजस्व र व्ययको अनुमानमाथिको छलफलमा रिजालले देशलाई सङ्कटबाट जोगाएर आर्थिक विकास प्राप्त गर्ने अवसर गुमाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, '‘यसपालि देशलाई सङ्कट छ । दुनियाँ शताब्दीको गहिरो सङ्कट भोग्दै छ । यो सङ्कटलाई अवसरमा बदल्ने कल्पनाशीलता बजेटमा अपेक्षा गरिएको थियो । सरकारले त्यो कल्पनाशीलता देखाएन ।' 

बजेटमा काम गर्छु भनेर ८३ पेजको दस्तावेजमा उल्लेख भएका काम गर्नका लागि पैसा कहाँबाट आउँछ ? भनेर उहाँले प्रश्न समेत गर्नुभयो । कोरोना नियन्त्रण तथा रोकथामकाे लागि पालिकाबाहेक अरुले काम नै गर्न नसक्ने अवस्थामा पनि बजेट नदिइएको उहाँले बताउनुभयो । पालिकालाई सशर्त अनुदानबाहेक सबै घटेको उल्लेख गर्दै उहाँले सङ्घीयता बलियो बनाउने अधिकारसमेत सरकारले गुमाएको बताउनुभयो ।

रिजालले स्वास्थ्य क्षेत्रमा २२/२३ अर्ब बजेट मात्रै छुट्याएर नपुग्ने बताउनुभयो । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणकाे लागि छुट्याएको ६ अर्ब रुपैयाँले परीक्षण गर्नसमेत नपुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘६ अर्ब परीक्षणकाे लागि खर्च हुन्छ । ६ लाखको खर्च गर्न सक्ने क्षमता छ ? क्षमता हुँदा अस्तिको जस्तै चलखेल हुन्छ भन्ने डर छ ।’

अझै पनि अर्थतन्त्र उद्धारको काम कसरी गर्ने, राहतकाे काम कसरी गर्ने भन्ने समय बाँकी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, '८३ पेजको दस्तावेजलाई बिर्सेर फेरि अबको अर्थतन्त्र उद्धारको काम कसरी गर्ने, राहतकाे काम कसरी गर्ने, नागरिकलाई घर घरसम्म कसरी पुर्‍याउने भन्ने कुरा सोचौँ । त्यसकाे लागि साझा कुरा के हुन्छ भन्ने कुरातर्फ लागौँ । साझा अठोटबाट अर्थतन्त्र कसरी बनाउन सक्छौँ भन्ने सोच्नुभयो भने अहिलेको परिस्थितिलाई पनि हामी अवसरको रुपमा बदल्न सक्छौँ ।' 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया