बोक्सी आरोपमा दम्पतीमाथि जनप्रतिनिधिकै संलग्नतामा मलमुत्र खुवाउने प्रयास, प्रहरीले दर्ता गरेन जाहेरी

 साउन १६, २०७५ बुधबार १६:४८:४१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषामा एक दम्पतीमाथि जनप्रतिनिधिकै संलग्नतामा बोक्सी आरोपमा एक परिवारमाथि ज्यादती भएको घटना सार्वजनिक भएको छ । 

धनुषाको औरही गाउँपालिका ४ बस्ने ६२ वर्षका धनेश्वर महतो र उहाँकी पत्नी ५० वर्षकी मिनादेवी महतोलाई बोक्सीको आरोपमा जनप्रतिनिधिसहित गाउँलेले कुटपीट गरी मलमुत्र खुवाउने प्रयास गरेको घटना झण्डै डेढ महिनापश्चात सार्वजनिक भएको हो ।

गएको असार ६ गते बोक्सी आरोपमा कुटपीट भए पनि घटनामा संलग्न वडाध्यक्ष लगायत दोषी विरुद्ध धनुषा प्रहरीले उजुरी दर्ता गरेर कारबाही गर्न नमानेपछि पीडित दम्पती न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारेका छन् । पीडित दम्पतीले मंगलबार राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरमा न्यायको लागि उजुरी दर्ता गराएका हुन् ।

पीडित परिवारका अनुसार यसरी भयो घटना 

घटना गएको असार ६ गते बिहान १० बजेको हो । कृषि विकास कार्यालयका अवकाश प्राप्त नायव सुब्बा स्थानीय धनेश्वर महतो घरनजिकै खेतमा कृषि कार्यालयबाट अनुदानमा पाएको सानो पावर ट्याक्टरले खेत जोतिरनु भएको थियो । त्यतिकै बेला १०–१५ जनाको एक हुल मान्छे खेतमै पुगे ।  धनेश्वरलाई घरमा डायन ‘बोक्सी’ पालेर गाउँ बिगारेको भन्दै हात समातेर तान्दै जगल्ट्याएर लछारपछार गरी कुटपीटसहित तथानाम गाली गर्दै गाउँको ब्रह्मस्थानमा लगे ।

पुनः त्यहाँबाट धनेश्वरलाई नजिकै रहेको औरहीबजारको चौतारामा लगेर त्यहाँ धनेश्वरका पत्नी मिनादेवी महतोलाई समेत बोक्सी भन्दै घरबाटै तान्दै कपाल समातेर तछाडमछाड गरी ल्याए सबैका बीचमा उपस्थित गराए । त्यहाँ उनीहरुले धनेश्वर र मिनादेवीमाथि बोक्सी भन्दै कुटपीट गर्नुको साथै मलमुत्र खुवाउन गाउँकै एक डुम समुदायका महिलालाई सहयोगका लागि बोलाउन लागेपछि उहाँकी छोरी अञ्जनाकुमारी महतो नजिकै रहेको इलाका प्रहरी कार्यालयमा गुहार गर्न पुगिन् । दुई जना प्रहरी लगत्तै आए । तर प्रहरीलाई देख्नेबित्तिकै कुटपीट गर्नेहरु भागे । त्यति नै बेला वडा नं. ४ का वडाध्यक्ष शिवनाथ साह त्यही आइपुग्नुभयो । र ती आएका दुई जना प्रहरीलाई घटना केही होइन भन्दै आफ्नो प्रभावमा पारेर तीनैजना त्यहाँबाट बिदा भए ।  

त्यसपछि फेरि त्यहाँ उपस्थित मान्छेहरु धनेश्वरका छोरी अञ्जना सहितमाथि जाइलागे । पीडित धनेश्वरले दुःख पोख्दै भन्नुभयो, ‘प्रहरी गएपछि मसहित छोरीलाई कुटपीट गर्यो । मेरी पत्नीलाई चारैतिरबाट  तछाडमछाड गरी मलमुत्र खुवाउने तथा थुक चटाउने प्रयास गरे । हामी जसोतसो प्रतिवाद गर्दा उनीहरुले मेरी श्रीमतीलाई दिसा खुवाउन सकेनन् । र पछि जिउमै दिसा छ्यापिदिए ।’

उनीहरुले हातखुट्टा, मुक्का र लठ्ठीले कुटपीट गरेर धनेश्वर र मिनादेवीलाई समेत घाइते बनाएको परिवारले बताएको छ । त्यस घटनामा औरही गाउँपालिका ४ बस्ने वडाध्यक्ष शिवनाथ साह, वडा सदस्य वर्ष ४५ का रामभगत मुखिया, स्थानीयहरु वर्ष ६५ का विन्देश्वार साह, वर्ष २८ का जितेन्द्र महतो, वर्ष ३८ का ललितकुमार साह, वर्ष ५० की मन्जुदेवी साह , वर्ष ३८ का अवधकुमार मण्डल र वर्ष ४० की शन्तिदेवी मण्डल, पहारी खत्वे लगायत संलगन रहेको पीडित धनेश्वरले बताउनुभयो ।

यसअघि पनि कैयों पटक गाउँमा बोक्सीको आरोप आफ्नो परिवारमाथि लगाउने गरेको धनेश्वरको गुनासो छ ।   
   
घटनापश्चात न्यायको लागि त्यही दिन धनेश्वरकी छोरी अञ्जनाले इलाका प्रहरी कार्यालय औरहीमा आफू लगायत बुबाआमामाथि भएको ज्यदती कुटपीट र मलमुत्र खुवाउने घटनामा संलग्नहरुलाई कारबाहीको माग गरी उजुरी दर्ता गराइन् । पीडित दम्पती आफूमाथि भएको अत्याचारमा संलग्नलाई कारबाहीको माग गरी न्याय पाउन जिल्ला प्रहरी कार्यालय धनुषा पुगे । उजुरी लेखाउँदैमा दिन वित्यो । अबेर भएपछि प्रहरीले उजुरी दर्ता गरेन । अर्को दिन आउन भन्यो । अर्कोदिन जाँदा घटनामा संलग्न धेरै जनाको नाम भयो भन्दै थोरै जनाको नाम दिए मात्र उजुरी दर्ता हुने प्रहरीले बताएको पीडित धनेश्वरले बताउनुभयो ।   

‘पटक–पटक प्रहरी उपरीक्षक गोविन्द थपलिया र प्रहरी नयाव उपरीक्षक दिपेन्द्र शाहीलाई बिलौना गरेँ । तर उजुरी दर्ता गर्न मान्नु भएन । चारजनाको मात्रै राख, त्यसपछि उजुरी दर्ता गरिदिन्छु भन्नु हुन्छ’, धनेश्वरले भन्नुभयो, ‘मुद्दा शाखामा जाँदा त्यहाँका इन्सपेक्टर साहबले वडाध्यक्ष शिवनाथ साहको नाम हटाएर ल्याउनुस् । दर्ता हुन्छ भन्नु हुन्छ । घटनामा मुख्य संलग्नहरुकै नाम हटाउन भन्छ । अनि म के गरुँ । प्रहरीबाट न्याय नपाउने भएपछि आयोगको विषयमा थाहा भयो । र आयोगमा उजुरी दर्ता गराएँ । मलाई अझै विश्वास छ । परिवारमाथि नै भएको अत्याचारमा  संलग्न दोषी उपर कारबाही हुन्छ ।’  

कुटपीटबाट शरीरको विभिन्न भागमा लागेको चोटको कारण श्रीमतीसहित आफू पनि घाइते भएर जनकपुर अञ्चल अस्पताल र निजी क्लिनिकमा समेत उपचार गराएको पीडित धनेश्वरको भनाई  छ । उहाँले दोषीमाथि कारबाही र आफ्नो परिवारको न्यायको लागि पहल गरिदिन सबैपक्षसँग गुहार गर्नुभएको छ ।

कुटपीट भएको हो, तर म संलग्न छैन : वडाध्यक्ष साह

बोक्सी आरोपमा परिवारमाथि भएको ज्यादती घटनामा नाम मुछिएका  विषयमा वडाध्यक्ष शिवनाथ साहले धनेश्वरका परिवारमाथि कुटपीट भएको स्वीकार गर्नुभयो । तर बोक्सी आरोपमा नभई अन्य विवादको पञ्चायतमा उनीहरु आउन अस्वीकार गरेको र गालीगलौज गरेपछि पञ्चहरुले समातेर ल्याई समान्य कुटपीट गरेको बताउनुभयो । त्यहाँ आफ्नो जनप्रतिनिधि वडासदस्य झगरु भन्ने रामभगत मुखियालाई पञ्चायत गर्ने जिम्मेवारी समेत दिएको उहाँले बताउनुभयो । तर उक्त घटनामा आफ्नो संलग्नता नरहेको समेत वडाध्यक्ष साहको दावी छ ।

बोक्सी आरोपमा धनेश्वर परिवारमाथि ज्यादती भएकै हो, न्याय पाउनु पर्छ : गाउँपालिका अध्यक्ष यादव

औरही गाउँपालिकाका प्रमुख ब्रह्मदेव यादवले बोक्सी आरोपमा धनेश्वरका परिवारमाथि ज्यादती भएको बताउनुभयो । तर गाउँपालिकामा उजुरी नपरेकाले आफूहरु कुनै पहल गर्न नसकेको र पीडित परिवारलाई न्याय मिल्नु पर्नेसमेत उहाँले बताउनुभयो ।

अनुसन्धान हुँदैछ, दोषीमाथि कारबाही हुन्छ : प्रहरी उपरीक्षक थपलिया  

जिल्ला प्रहरी कार्यालय धनुषाले पीडित परिवारको जाहेरी किन दर्ता गरेन, भन्ने विषयमा धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनामा संलग्न नभएकाहरुको नाम समेत उजुरीमा समावेश गरेकाले उजुरी दर्ता नभएको बताउनुभयो । घटना विषयमा अनुसन्धान जारी रहेकाले संलग्न व्यक्तिहरुमाथि कारबाही हुने उहाँको भनाई छ ।

दोषीहरुमाथि कारबाहीको लागि आयोगले सहयोग गर्छ : निर्देशक सिंह

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख दिपेन्द्रबहादुर सिंहले पीडित धनेश्वर महतोले प्रहरीले जाहेरी दर्ता नगरेपछि आयोगमा उजुरी दर्ता गराएकाले घटनामा संलग्न दोषीहरुलाई कारबाहीको दायराभित्र ल्याउन आयोगले सहयोग गर्ने बताउनुभयो । उहाँले घटनाको अनुसन्धान गरी संलग्न दोषीविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीलाई अयोगले सिफारिस गर्ने समेत बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • पौडेल प्रकाश

    Aug. 1, 2018, 5:34 p.m.

    कानुन नभएको देशमा जे पनि हुन्छ उता १३ बर्ष को बालीकालाइ डाडै बलात्कार गर्दा त केही भएको छैन

  •  0 Reply

तपाईको प्रतिक्रिया