वाग्मती प्रदेशमा रसुवा काेराेनामुक्त

 जेठ १८, २०७७ आइतबार १९:१५:१६ | रासस
unn.prixa.net

रसुवा – पूर्वसावधानी अपनाएकाे कारण रसुवा जिल्ला अहिलेसम्म कोभिड–१९ मुक्त भएको छ । चीनको वुहानमा कोरोना भाइरस सुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गएकाे माघ १५ गतेदेखि नेपालको उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट आवत जावतमा रोक लगाइएको थियो ।

सहायक प्रमुख जिल्ला  अधिकारी सपनाकुमारी भट्टराईले सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीयवासी सचेत भएकाेले भाइरसबाट अहिलेसम्म जिल्ला सुरक्षित भएको बताउनुभयो ।

रोगप्रति सावधान रहन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गाउँपालिका, रेडक्रस, सुरक्षा अङ्ग, स्वास्थ्यकर्मी, सामाजिक सङ्घ संस्थालगायत निकायबाट नागरिकमा जनचेतनाको कार्यक्रम, लकडाउनकाे पूर्णपालना, क्वरेण्टीन एवं आइसोलेशन शय्याको तयारी तथा चिकित्सक एवं स्वास्थ्य सामग्रीको जोहोसमेतले अहिलेसम्म रसुवा कोरोना भाइरसको समस्याबाट मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।

जिल्ला बाहिरबाट आएका व्यक्तिको निगरानी र शङ्कास्पदको तुरून्तै परीक्षणले गर्दा सफल भइएको उहाँको भनाइ छ । क्वरेण्टीनमा अहिलेसम्म १९ व्यक्ति छन् । तीमध्ये ११ जना भारतबाट आएका छन् । जिल्ला बाहिरबाट आएका स्थानीयवासीलाई क्वरेण्टीनमा राखी स्वाब परीक्षण गरेर मात्र घर पठाउने गरिएको बताइएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया