सुदूरपश्चिममा कोरोना सङ्क्रमितकाे सङ्ख्या ४३ पुग्याे, साेमबार एकैदिन १८ जना थपिए

 जेठ १९, २०७७ सोमबार १४:४९:६ | सीताराम ओझा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कैलाली – सुदूरपश्चिममा साेमबार एकैदिन थप १८ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । धनगढी प्रयोगशालामा गरिएकाे परीक्षणमा एकैदिन १८ जनामा काेराेना पोजेटिभ देखिएको हो ।

साेमबार कैलालीका १४ जनामा काेराेना पुष्टि भएकाेमा ११ जना पुरुष र तीन जना महिला रहेका छन् । त्यस्तै डोटी, अछाम, कञ्चनपुर र बैतडीमा एक/एक जना पुरुषमा कोरोना सङ्क्रमण पाइएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।  

योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ । प्रदेशबाहिर थप दुई जनाको उपचार भइरहेको छ भने एक जना डिस्चार्ज भइसकेका छन् ।

सुदूरपश्चिम प्रदेशमा गएकाे चैत १४ गते पहिलो कोरोना सङ्क्रमित फेला परेका थिए । धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी यूएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । लम्कीका २१ वर्षीय युवक भारतबाट फर्किएका थिए ।

वैशाख १ गते लम्की चुहा नगरपालिका १ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिइन् । वैशाख १ गतेसम्म पुष्टि भएका पाँचै जना सङ्क्रमित कोरोना जितेर घर फर्किसकेका छन् । त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाकाे नयाँ सङ्क्रमित फेला परेनन् ।

जेठ ९ गते एकैदिन सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो । कैलालीका तीन जना सङ्क्रमितमध्ये एक जना भारतबाट लुकीछीपी आएका थिए भने बैतडीका सङ्क्रमित पनि सङ्क्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए । अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो । बैतडीको शिवनाथ गाउँपालिका १ र २ का २०, २०, २२ र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए । जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए ।

जेठ १३ गते कैलालीको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीया बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको थियो । अछामकी सङ्क्रमित बालिका जेठ ८ गते आफ्ना बुवासँगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन् । कैलालीका सङ्क्रमित पनि भारतबाट आएका थिए ।

यस्तै जेठ १५ गते कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका ५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । हिजोमात्रै सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये एक बालिकाको मृत्यु भइसकेको छ । सुदूरपश्चिममा ६ जना सङ्क्रमित कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया