सङ्क्रमित बढेसँगै वैकल्पिक प्रयोगशाला स्थापना गर्ने सरकारको तयारी

लक्षण नेदेखिएकाको पनि परीक्षण गरिने

 जेठ २०, २०७७ मंगलबार ८:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको लक्षण नदेखिएकाको पनि पीसीआर विधिमार्फत स्वास्थ्य परीक्षण गर्ने तयारी पनि सरकारले गरेको छ ।

विशेषगरी भारतबाट आएकाहरुको स्वास्थ्य जाँचलाई प्राथमिकता दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, भारतबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वरेन्टीनमा राखिने भएको छ ।  

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भारतबाट आएका सबैलाई पहिलो चरणमा क्वरेन्टीनमा राखिने छ । १४ दिनसम्म क्वरेन्टीनमा बसेकाको शंका लागे पीसीआर विधिमार्फत परीक्षण गरिने  छ ।

नेपालमा लक्षण नै नदेखिएकालाई  पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले भारतबाट आएका तर शंकास्पद देखिएकाको परीक्षण गर्ने तयारी भएको देवकोटाले बताउनुभयो ।  १४ दिनसम्म क्वरेन्टीमा राखे पछि उनीहरुलाई घर फर्काइने छ । घर फर्किएपछि कुनै समस्या देखिए उनीहरुलाई घरमा नै क्वरेन्टीनमा राखिने छ ।  

यसैगरी सरकारले अग्रपंक्तिमा काम गर्ने सबै डाक्टर तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने भएको छ । सङ्क्रमितको उपचारमा खटिएका डाक्टरसहित स्वास्थ्यकर्मीको बेला बेलामा परीक्षण थाल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले सङ्क्रमितको संख्या बढ्दै गए पछि वैकल्पिक प्रयोगशालाको बारेमा छलफल थालेको छ । अहिले भएका प्रयोगशाला अपर्याप्त हुन सक्ने भन्दै वैकल्पिक प्रयोगलाशा कसरी स्थापना गर्ने भन्ने विषयमा तयारी भईरहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार सप्तरीको राजविराजमा छिट्टै पीसीआर विधिमार्फत परीक्षण गर्ने प्रयोगशाला स्थापनाको तयारी भएको छ । अहिले २ लाख जनालाई पीसीआर विधिमार्फत परीक्षण गर्न औषधि रहेको र थप औषधि खरिदका लागि प्रक्रिया सुरु भइकेको अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया