मनसुन : जुन १० कै आसपासमा नेपाल भित्रने अनुमान, भारतको केरलासम्म आइपुग्यो

 जेठ २०, २०७७ मंगलबार ९:३७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यसपालीको मनसुन जुन १० कै आसपासमा भित्रिने मौसमविद्ले अनुमान गरेका छन् ।

यसअघि एक हप्ता ढिलो गरी मनसुन भित्रिने भनिए पनि अहिले अरब सागरमा न्यून चापीय प्रणाली विकास भएकाले जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार भारतको केरलासम्म मनसुन भित्रिसकेकाले पनि बेलैमा मनसुन भित्रने अनुमान गरिएको हो । दक्षिण पूर्वी अरब सागरमा रहेको न्यूनचापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र चक्रवात बन्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुन समयमा नै भित्रिए बालीनालीलाई एकै पटक सखाप पार्ने सहल किरा पनि नेपाल प्रवेश गर्न नपाउने विज्ञले बताउँदै आएका छन् ।

यो प्रणाली उत्तरपूर्व सर्ने क्रममा रहेकाले नेपालका केही ठाउँमा बिहीबारदेखि तीन दिन वर्षा हुने अनुमान गरिएको मौसमविद् कँडेलले बताउनुभयो । यस्तै यही प्रणालीको प्रभावका कारण पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि छ ।

आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण बेलुका पख केही पहाडी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया