विदेशमै रोकिएका शव पनि चार्टर्ड जहाजमार्फत ल्याउने तयारी

 जेठ २०, २०७७ मंगलबार १२:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ । नेपाली श्रमिकलाई ल्याउन चार्टर्ड उडान भएका बेला त्यहाँ रोकिएका शव ल्याउने निर्णय भएको हो ।

कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजिकरण गर्ने आदेश २०७७ मा जहाज चार्टर्ड भएका बेला अलपत्र शव पनि ल्याउने व्यवस्था परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउनुपर्ने उल्लेख छ ।

शव ल्याउन लाग्ने खर्च सम्बन्धित रोजगारदाताले व्यर्होर्न पर्नेछ । तर विशेष परिस्थितिमा शव ल्याउँदा लाग्ने खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट रकम चलाउन सकिने भनिएको छ ।

झण्डै साढे दुई महिनाको अवधिमा कोरोनासहित अन्य कारणले खाडीका ६ देश मलेसिया, दक्षिण कोरिया लगायतका देशमा कार्यरत २ सय २७ जना नेपालीको ज्यान गएको छ ।

गएको शुक्रबारसम्ममा सबैभन्दा धेरै साउदीमा ५८ जना नेपालीले ज्यान गुमाएका छन् । उनीहरुको शव उतै रोकिएको छ । यस्तै साउदीपछि सबैभन्दा धेरै ज्यान गुमाउने नेपालीको सङ्ख्या मलेसियामा छ । मलेसियमा यो अवधिमा ५१ जना नेपालीको विभिन्न कारणले ज्यान गएको छ ।

कतारमा ३७ जनाको ज्यानको ज्यान गएको वैदेशिक रोजगार बोर्डको तथ्याँक छ । यस्तै यूएईमा यो अवधिमा कोरोनासहित विभिन्न कारणले ४८ जनाको ज्यान गएको छ भने कुवेतमा ११ जनाको ज्यान गएको छ । बहराइनमा यो अवधिमा ५ र दक्षिण कोरियामा ज्यान गुमाउको सङ्ख्या चार रहेको छ । यो अवधिमा ओमानमा १ र अरु देशमा ११ जनाको ज्यान गएको छ ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा लामो समयसम्म शव नआएपछि ७५ मृतकका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान नखुल्दासम्म शव ल्याउन नसकिने भन्दै बोर्डले गन्तव्य देशमै शव व्यवस्थापनका लागि अनुमति दिन अनुरोध गरिरहेको छ । लकडाउनको अवधिमा गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ । गएको शुक्रबारसम्म ७५ परिवारले अन्त्येष्टिको लागि अनुमति दिएका छन् भने १ सय ५२ शव विभिन्न देशमा अलपत्र अवस्थामा छन्।

विमानस्थलमा आएका शव घरसम्म पुर्‍याउन तयारी अवस्थामा छौं : बोर्ड

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले सरकारले विमानस्थलमा ल्याएका शव मृतकको घर घरसम्म पुर्‍याउन बोर्ड तयार रहेको बताउनुभयो । एक दिनमा २० वटासम्म शव विमानस्थलबाट घरसम्म पुर्‍याउन सक्ने गरी बोर्डको तयारी रहेको कार्यकारी उहाँले बताउनुभयो ।

‘हामीले शव वाहन, चालक र विमानस्थलबाट लैजान त्यही अनुसारको तयारी गरिसकेको छौं,’ श्रेष्ठले भन्नुभयो ,‘परिवारका सदस्य र आफन्त काठमाण्डौ आउन नसक्दा लोकेशन दिए पनि हामी घरसम्म शव पुर्‍याइदिनेछौं ।’

अहिले कोरोनाको कारण मृतकका आफन्त शव बुझ्न काठमाण्डौ आउन सक्ने अवस्था नरहेमा परिवारसँग समन्वय गरेर विमानस्थलबाट घरसम्म शव पुर्‍याउन बोर्डले समन्वय गर्नेछ । तर शव कसरी आउँछन्, कति आउँछन् भन्नेबारे अहिले नै भन्न नसकिने उहाँको भनाई छ।

कुन देशमा कति शव ?

यो अवधिमा सबैभन्दा धेरै साउदीमा ५८ जना नेपालीले ज्यान गुमाएका छन् । जसमध्ये चार जनाको कोरोनाको कारण ज्यान गएको हो भने बाँकीको अन्य कारणले ज्यान गएको बोर्डले जनाएको छ । साउदीमा ज्यान गुमाउने ११ जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । अहिले साउदीमा ४७ वटा शव रोकिएको छ ।

मलेसियमा यो अबधिमा ५१ जना नेपालीको विभिन्न कारणले ज्यान गएको छ । जसमध्ये चार जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । मलेसियामा ४८ वटा शव रोकिएका छन् ।

कतारमा ३७ जनाको ज्यान गएको बोर्ड तथ्याँक छ । जसमध्ये १० जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । अब कतारमा २७ वटा शव बाँकी छ । जसमध्ये कतारमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।

यस्तै यूएईमा यो अवधिमा ४८ जनाको ज्यान कोरोनासहित विभिन्न कारणले ज्यान गएको छ । जसमध्ये ३६ जनाको परिवारले उतै सदगतका लागि अनुमति दिएका छन् भने अब यूएईमा १२ वटा शव व्यवस्थापन गर्न बाँकी छ । यूएईमा ज्यान गुमाउनेमध्ये ९ जनाको कोरोनाको कारण ज्यान गएको बोर्डले जनाएको छ ।

कुवेतमा ११ जनाको ज्यान गएको छ । कुवेतमा ज्यान गुमाएका मृतकका आफन्त कसैले पनि अहिलेसम्म उतै अन्त्येष्टिका लागि अनुमति दिएका छैनन् । ११ वटै शव व्यवस्थापन गर्न बाँकी छ । बहराइनमा यो अवधिमा ५ जनाको ज्यान गएको छ जसमध्ये २ जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमित दिएका छन् । अब तीन वटा शव बाँकी छ ।

दक्षिण कोरियामा यो अवधिमा ज्यान गुमाउने चारै जनाको शव उतै अन्त्येष्टिका लागि अनुमति आएको बोर्डले जनाएको छ । यो अवधिमा ओमानमा १ र अन्य विभिन्न देशमा ११ जनाको ज्यान गएको छ । विभिन्न देशमा ज्यान गुमाउने ११ मध्ये ८ जनाका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।

यो तथ्याँक गएको शुक्रबारसम्मको हो । सरकारले जहाज चार्टर्ड गरेर स्वदेश ल्याउने प्रक्रिया थाल्दासम्म यो संख्या बढ्न सक्ने देखिएको छ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया